२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रोटरीको आयोजनामा मर्चवारमा भएको स्वास्थ्य शिविरबाट ६२० जना लाभान्वित

शनिवार , माघ ७, २०७९

भैरहवा, ७ माघ ।
रुपन्देहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ, मर्चवार । चारवटा पालिका पर्ने यस क्षेत्रका नागरिकमा अनेक स्वास्थ्य समस्या छन् । कति आर्थिक अभावले अस्पतालसम्म पुग्न सकेका छैनन् भने कयौं रोग लुकाएर बस्न बाध्य छन् । मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिका पर्ने यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् । विशेषज्ञ सेवा लिनका लागि यहाँका नागरिक भैरहवा, बुटवल लगायत अन्य ठाउँमा जानुपर्ने बाध्यता छ ।

उपचारका लागि टाढा जानुपर्ने, आर्थिक अभाव, शिक्षा र चेतना अभावले यहाँका स्थानीयले रोग लुकाएर पनि बस्छन् । नजिकका स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक नहुँदा र पालिकाहरुले यसका लागि पहल नगर्दा धेरै विपन्न परिवारले राम्रो र भरपर्दो स्वास्थ्य सेवा लिन पाएका छैनन् । बेलाबखत विभिन्न संघ–संस्थाले आयोजना गर्ने शिविरहरुमा चेकजाँच गराए पनि यहाँ यस्ता धेरै नागरिक छन्, जो अझैसम्म अस्पतालको गेटसम्म पुगेका छैनन् ।

महिलाहरुमा पाठेघर, छाला तथा यौन, पेट लगायतका अनेक रोगले च्याप्दो छ । यसका साथै यहाँका धेरै नागरिकमा नाक, कान, घाँटी, छाला, दाँत, पेट लगायतको समस्या छ । अशिक्षा र अनेक कारण यहाँका महिलाहरुले खुलेर आफ्ना समस्या राख्न सक्दैनन् । नजिकका स्वास्थ्य चौकीहरुमासमेत विशेषज्ञ महिला चिकित्सक नहुँदा समस्या राख्न र उपचार गराउन महिलाहरुलाई अझै समस्या भएको सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्सीप्रसाद माझी बताउँछन् ।

‘पालिकाहरुले विशेषज्ञ चिकित्सक राख्न सकेको छैनन्, राख्न खोजे पनि चिकित्सक यहाँ आउनै मान्दैनन् । राम्रो स्वास्थ्य संस्था पनि छैन । यसले गर्दा यहाँका नागरिकले अनेक रोगसँग लड्नुपर्दा पनि गुम्सिएर बसिरहेका छन्’, उनले भने, ‘हामीले अहिले विशेषज्ञ चिकित्सक ल्याउन र स्वास्थ्य चौकीहरुलाई विस्तार गर्न पहल गरिरहेका छौं ।’ उनले गरिबी र अशिक्षाका कारणले पनि धेरै नागरिक अस्पताल नपुग्ने गरेको बताए ।

शनिबार रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भने यहाँका धेरै स्थानीयलाई विशेषज्ञ चिकित्सकसँग खुलेर आफ्नो समस्या राख्न सक्ने अवसर जुटाइदियो । सम्मरीमाई गाउँपालिका–१, करौंतामा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा महिलाले मात्रै होइन् वृद्धवृद्धा, बालबालिकादेखि अधबैंसेसम्मले चिकित्सकसँग खुलेर आफ्ना स्वास्थ्य समस्या राखे । रोटरी क्लब र गाउँपालिकाको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा ६ सय २० जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीयमयस)ले प्राविधिक सहयोग गरेको थियो ।

युसीयमयसबाट प्राध्यापक डा.साधन मुखीको नेतृत्वमा ३० जना चिकित्सक र स्वास्थ्यकर्मीहरु शिविरमा उपचारका लागि गएका थिए । महिला तथा प्रसूति रोग विशेषज्ञसहित अन्य विशेषज्ञ चिकित्सक पनि शिविरमा सहभागी थिए । रोटरी क्लबका अध्यक्ष भोज बहादुर खत्रीले गरिब तथा विपन्न परिवारको बढी बसोबास रहेको क्षेत्र छनोट गरेर स्वास्थ्य शिविरको आयोजना गरेको बताए । ‘हामीले यहाँको वस्तुस्थिति बुझ्यौं, धेरै महिलाहरुले रोग लुकाउने, अस्पताल नजाने, मर्चवारमा विशेषज्ञ चिकित्सक नभएको थाहा पाए पछि निःशुल्क शिविर आयोजना गरेका हौं’, उनले भने, ‘शिविरमा धेरैजना उत्साहकासाथ आएर आफ्नो स्वास्थ्य समस्या राख्नुभयो, विशेषज्ञ चिकित्सकसँग चेकजाँच गराउनुभयो, निःशुल्क औषधि लिएर जानुभयो ।’

खत्रीले रोटरीले सधैं सामाजिक सेवालाई प्राथमिकता दिएर अघि बढेको जनाउँदै विपन्न बस्तीहरुमा सहयोग गर्ने, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने लगायतका धेरै काम गर्दै आएको जनाए । 

3.1.JPG

शिविरमा उपचारमा खटिएकी महिला तथा प्रसूति रोग विशेषज्ञ डा. दीपाञ्जली शर्माका अनुसार यहाँका धेरै महिलाहरुमा सेतोपानी बग्ने, युवतीहरुमा महिनावारी हुँदा बढी रगत बग्ने, पेट दुख्ने, हात खुट्टामा समस्या भएको पाइएको बताइन् । ‘शिविरमा आएका धेरैले आफ्नो समस्या भन्नै खोज्नुहुन्थेन तर हामीले विभिन्न विकल्प खोजेर सोधखोज गर्दा यस्ता समस्याहरु बताउनुभएको हो’, उनले भनिन् ।

शिविरमा ३ सय ७५ महिला र २ सय ४५ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । क्लबका प्रथम उपाध्यक्ष एवं युसीयमयसका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले उत्साहकासाथ स्थानीय उपचारका लागि शिविरमा आएको बताए । उनका अनुसार विशेषज्ञ चिकित्सकसहितको टिमले शिविरमा सामान्य चिकित्सा तथा शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीको जाँच, रगत जाँच, छाला तथा यौन रोगको जाँच गरेका थिए । यस्तै, महिला तथा प्रसूति रोगसम्बन्धी जाँच, भिडियो एक्सरे, मुटुको ईसीजी, बाल रोग, दाँत तथा गिँजा रोगको उपचार गरिएको थियो । शिविरमा चेकजाँच गराएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण गरिएको ढकालले बताए । उनकाअनुसार करिब २ लाख रुपैयाँको निःशुल्क औषधि वितरण गरिएको छ ।

1 (3).JPG

शिविरमा स्वास्थ्य परीक्षणका लागि आएकी सम्मरीमाई–४ की माया हरिजनले घरछेउमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदा आफू हर्षित भएको बताइन् । ‘मैले पहिलोपटक चिकित्सकसँग चेकजाँच गराएकी हुँ’, उनले भनिन्, ‘मेरा समस्या खुलेर चिकित्सकसामु राखेँ, सल्लाहसुझाव दिनुभयो, केही समय औषधि खानु भन्नु भएको छ । अब मेरा समस्या ठीक होलान् ।’ उनले शिविरबाट आफू जस्ता धेरै महिलाहरु लाभान्वित भएको जनाइन् ।

गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा पालिका निकै पछाडि परेको जनाउँदै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन आफू लागि परेको जनाए । ‘बेलाबेलामा आयोजना हुने यस्ता शिविरहरुमा धेरैले सेवा पाउनु भएको छ, यसले स्थानीयलाई ठूलो स्वास्थ्य लाभ मिलेको छ’, उनले भने, ‘हामीले अब पालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै जानेछौं । रोटरी जस्ता अन्य सामाजिक संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं ।’

पालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले सम्मरीमाईका महिलाहरुमा सबैभन्दा बढी स्वास्थ्य समस्या रहेको बताइन् । उनले रोग पालेर बस्दा थप समस्या हुने भन्दै समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरिन् । शिविर सञ्चालन अघि आयोजित कार्यक्रममा बोल्दै रोटरीका रिजन–५ का एसिस्टेन गभर्नर राजु खरेल, क्लबका पूर्व अध्यक्ष डा.शान्त कुमार शर्मा, सम्मरीमाई वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादव, युसीयमयसका प्रशासन संयोजक तेज कुमार केसी लगायतले बोल्दै यस्ता शिविरले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य समस्यालाई पहिचान र निदान गर्न सहज हुने बताए ।

शिविरमा विभिन्न समस्या देखिएका बिरामीलाई युसीयमयसले २० प्रतिशत छुट दिएर उपचार गर्ने जनाएको छ । अस्पतालमा उपचार गर्न आउने इच्छुक बिरामीलाई एक महिनासम्म निःशुल्क गाडीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।