२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

भीम अस्पताललाई भिडियो एक्स–रे र ई.सी.जी. मेसिन सहयोग

शनिवार , माघ ७, २०७९

भैरहवा, ७ माघ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालले भैरहवास्थित भीम अस्पताललाई शनिबार स्वास्थ्य उपकरण (मेसिन) उपलब्ध गराएको छ । अस्पताललाई करिब ४० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक एउटा अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) मेशिन र दुईवटा ई.सी.जी. मेसिन हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका कोषाध्यक्ष विनोद खरेलले बताए । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनबाट प्राप्त उपकरण हस्तान्तरण गरिएको बताए । उनले अस्पताललाई सहयोग गर्न पाउँदा गर्वको अनुुभुति भएको बताए ।

सञ्चालनका लागि ती उपकरण राखिएका लायन्स भिडियो एक्स–रे कक्ष र लायन्स ई.सी.जी. कक्षको शनिबार पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।

IMG_5370.JPG

कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री खाणले लायन्स क्लबले निर्वाह गरेको भूमिका प्रशसंनीय रहेको बताए । उनले भने, ‘हामो उत्तरदायित्व र जिम्मेवारी बढेको छ, आफू भन्दा कमजोरलाई सहयोग गर्नुपर्छ, संसारभर लायन्सले यही शिक्षा दिएको छ । ’ उनले लायन्सको कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको बताए । भीम अस्पताललाई नेपालकै उत्कृष्ट अस्पताल बनाउनेतर्फ लाग्नुपर्ने र यसका लागि सबैको सहभागीता र योगदान आवश्यक रहेकोमा उनले जोड दिए । नेता खाणले पछिल्लो समय विज्ञान र प्रविधिले चमत्कारिक उपलब्धी हासिल गरेको बताए । नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको पहिलो प्राथमिकता हुुनुपर्ने उनको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले लायन्सले विभिन्न क्षेत्रमा अग्रणी स्थानमा रहेर सेवा गरेको बताए । उनले नागरिकले सरकार रहेको प्रत्याभुति गर्न पाउनुपर्नेमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आफू पनि लायन्स हुन पाउँदा खुसीको अनुभुति भएको बताइन् । उनले भीम अस्पतालको विकासका लागि सिद्धार्थनगर नगरपालिकाले सहकार्य गर्दै अघि बढ्ने बताइन् । 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्सले अस्पताललाई उपलब्ध गराएका सामानको उचित सदुपयोग हुने विश्वास व्यक्त गरे ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पताललाई प्राप्त उपकरणको सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गरे । उनले कोभिडको समयमा अस्पतालले गरेको कार्यबारे सबैलाई अवगत नै भएको बताए ।

अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले विगतको तुलनामा अस्पतालका सेवाहरुमा धेरै सुधार आएको बताइन् । उनले भीम अस्पताल बिरामीको रोजाइमा पर्न थालेको बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजकी सदस्य आस्मा घिमिरेको ध्वजा अभिवादन तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका सचिव सन्दिप कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_5390.JPG
IMG_5389.JPG