२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

रेडक्रस सोसाइटी सिद्धार्थ उप-शाखाको १८ औं साधारणसभा सम्पन्न

आइतवार , माघ १, २०७९

भैरहवा, १ माघ । 
नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप-शाखाको १८ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले रेडक्रस सोसाइटीले महत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले भने, ‘यहाँहरु रेडक्रसमा आबद्ध भएर महान काम गर्नुभएको छ । ’

नगरप्रमुख खानले विपद व्यवस्थापन, विपदमा परेकाको उद्दार तथा उनीहरुले पुनस्र्थापनामा गरेको कामको कारण विश्वमै रेडक्रस श्रद्धाको भावले हेर्ने गरिएको बताए । उनले मानवीय सेवा सिद्धार्थ उपशाखाले पनि गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले सिद्धार्थ उप-शाखा उत्कृष्ट उपशाखाको रुपमा रहेको बताए । उनले पवित्र भावनाबाट प्रेरित भएर रेडक्रसमा लागेको बताए ।
नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति बसन्त कुमार लाल कर्णले स्थापना दिवसको अवसरमा भीम अस्पतालमा बिरामीहरुलाई फलफूल र खाद्यान्न वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा तथा जनचेतनामूलक अभिमूखीकरण कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रेडक्रस सोसाइटीका आजीवन सदस्य श्रीराम गुप्ता, सिद्धार्थ उप-शाखा कार्यसमिति सदस्य तथा इनरह्वील क्लब अफ लुम्बिनीकी अध्यक्ष रुविता पुलामी कार्की, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, उपशाखाका सल्लाहकार शेष नारायण भण्डारी लगायतले बोलेका थिए ।

रेडक्रस सोसाइटी सिद्धार्थ उप-शाखाका सभापति बसन्त कुमार लाल कर्णको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यता, रेडक्रस सिद्धार्थ उपशाखा उपसभापति ललिता बछारको स्वागत तथा सचिव राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रेडक्रस सोसाइटी सिद्धार्थ उप-शाखाका सचिव राजेश जि.सी.ले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राम प्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान तथा आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।