
आइतवार , माघ १, २०७९
रुपन्देही, १ माघ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले चाडपर्वहरु प्रकृतिसँग सुन्दर रुपमा जोडिएको बताएका छन् । उनले नेपाली समाज नै प्रकृतिको सुन्दर संगम भएकाले संस्कृतिहरु प्नि प्रकृतिमैत्री हुनुपर्दछ भन्ने सन्देश यी चाडपर्वहरु रहेको पाइएको बताए ।
माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले माघे संक्रान्ति अर्थात माघी पर्व सुर्य उत्तरायण हुने परम्परासँग सम्बन्धित भएको हुनाले प्रकृतिसँग नेपाली जीवनको निकटतालाई दर्शाएको बताए ।
‘हाम्रो समाजलाई यस पर्वले साँस्कृतिक एकताका माध्यमबाट वृहत राष्ट्रिय एकतामा आबद्ध गर्न सहयोग पुर्याएको छ भन्ने नेपालीहरुको सामाजिक जीवनलाई पनि चाडपर्वहरुको विशेषताले उल्लासमय बनाउने गरेका छन्, ’शुभकामना सन्देशमा भनिएको छ ।
यसले सांस्कृतिक र जातीय विविधतालाई विभिन्न समुदायबीचको सह-सम्बन्धका रुपमा अभिवृद्धि गरेको उनको भनाइ छ ।
‘नेपालका विभिन्न समुदायमा हर्षोल्लासका साथ मनाइने माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश, विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु, ’प्रदेश प्रमुख शेरचनले भनेका छन् ।
माघे संक्रान्ति तथा मकर संक्रान्तिलाई नेपालमा विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउँदै आएका छन् । थारु समुदायले नयाँ वर्षका रुपमा विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । मगर समुदायमा पनि यस दिनलाई तीरको निशाना लगाउने खेलका रुपमा मनाइन्छ । यो पर्वमा आफ्ना परम्परागत आस्था अनुसार पवित्र नदी र त्रिवेणीहरुमा स्नान गरेर घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, खिचडी जस्ता खाद्य पदार्थको सेवन गर्ने प्रचलन रही आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij