
शनिवार , पौष ३०, २०७९
भैरहवा, ३० पुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बालापुर (वन कार्यालय नजिकै) मा आगामी माघ ४ गतेदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । डण्डा नदीको छेउमा जगदगुरु पीठ निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले यस क्षेत्रको विकासका लागि जगद्गरु पीठ निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञमा सहयोग गर्ने आग्रह गरे । उनले भने, ‘महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।’ बालापुरमा रहेको नवदुर्गा मन्दिर परिसरमा पीठ निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको रायमाझीको भनाइ छ । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको उपस्थितिमा महायज्ञ हुने उनले बताए । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित एवं ख्यातीप्राप्त विद्वानबाट महायज्ञमा धार्मिक कथावाचन हुने उनले जानकारी दिए । उनले भने, ‘जगद् गुरुले नेपालका ४ स्थानमा पीठ बनाउने सपना देख्नुभएको छ । जसअनुसार पूर्वमा चतुराधाम, उत्तरमा मुस्ताङमा र पश्चिममा महेन्द्रनगरमा धाम निर्माण भइसकेको छ । अब भैरहवा क्षेत्रमा निर्माण गरिने छ’, यो हाम्रा लागि खुसीको कुरा हो ।’
समाजसेवी भीम अधिकारीले सबै लागेर महायज्ञ सफल बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले महायज्ञको बारेमा सबैलाई जानकारी गराउन आग्रह गरे । उनले व्यक्तिगत रुपमा महायज्ञमा रु. १ लाख ११ हजार प्रदान गर्ने घोषणा गरे ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको उपस्थिति हुनु महत्वपूर्ण विषय भएको बताए । उनले भने, ‘गुरुजी आफै आउनुभएको छ, हामी धेरै भाग्यशाली छौं ।’ नगरप्रमुख खानले महायज्ञमा सक्दो सहयोग गरेर सफल बनाउनुपर्नेमा जोड दिए । उनले पीठ निर्माण सुरु भएपछि व्यक्तिगत रुपमा रु. १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । त्यस्तै सिद्धार्थनगर नगरपालिकाबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरप्रमुख खानले धार्मिक गतिविधिलाई बढाउँदै धार्मिक सदभाव कायम गर्नुपर्नेमा जोड दिए ।
नेपालका प्रथम जगद्गुरु मोहनशरण देवाचार्यले पीठ निर्माणलाई सार्थकता दिन महायज्ञ गर्न लागिएको बताए । उनले यस क्षेत्रमा पीठ निर्माण भए राम्रो सन्देश जाने उल्लेख गरे । उनले भने, ‘पीठ निर्माण भएपछि विश्वबाट लुम्बिनी, मुक्तिनाथ, पशुपति लगायतका महत्वपूर्ण स्थल हेर्न र तीर्थाटन गर्न आएका बैदिक सनातन धर्मका उपासकहरुलाई एकरात राखेर अभिनन्दन र भोजन गराउने उद्देश्य रहेको छ । ’उनले महायज्ञमा सहयोग गर्न आग्रह गरे ।
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका अनुसार महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका प्रस्तोता अन्तर्राष्ट्रिय ख्याती प्राप्त विद्वान आचार्य श्री पुरुषोत्तम सापकोटाले कथा प्रवचन र विद्वद्वर भागवताचार्य प्रसिद्व कथा व्यास श्री यादव शरण गड्तौलाले पाठ–पुराण गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij