२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

शुक्रवार , पौष २९, २०७९

भैरहवा, २९ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ । लायन्स क्लब इन्टरनेशलका संस्थापक मेल्भिन जोन्सको १४४ औं जन्मोत्सवको अवसर पारेर क्लबले सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा स्कूल ब्याग (झोला) वितरण गरिएको क्लबका अध्यक्ष गजेन्द्र कोहारले बताए । ‘मेल्भिन जोन्स सर्भिस विक’ अन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण २५७ जना विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकाबीच ब्याग हस्तान्तरण गरिएको कोहारले जानकारी दिए ।

स्कूल ब्याग वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर सेन्टिनियलले राम्रो सोच राख्दै काम गरेको बताए । उनले विद्यालय विगत भन्दा थप व्यवस्थित भएको आफूले पाएको बताए । उनले भने, ‘क्लबले सेवाका हात निरन्तर अगाडि बढाउनुपर्छ ।’  विद्यालयमा लायन्स क्लब लगायत विभिन्न संघ–संस्थाले कार्यक्रम गर्दै आएको र विद्यालयलाई प्रदान गरिएको सामग्रीहरुको सदुपयोग भएको उनको भनाइ छ ।

लायन्स सिद्धार्थनगर सेन्टिनियलका गाईडिङ लायन तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक कोषाध्यक्ष विनोद खरेलले विद्यालयमा आउन पाउँदा खुसीको अनुभुति भएको बताए । उनले विद्यालय थप व्यवस्थित भएको बताए ।

विद्यालयकी प्रधानाध्यापक आशा थापाले लायन्स क्लबसहित विभिन्न संघ–संस्थाले विद्यालयलाई निरन्तर सहयोग गर्नु सराहनीय भएको बताइन् । उनले विद्यालयले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताइन् ।

लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, द्वितीय उपाध्यक्ष खेम बहादुर कार्कीको स्वागत तथा कार्यक्रम संयोजक एवं क्लबका सचिव गणेश प्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा लायन्स अगुवाहरु धर्मराज श्रेष्ठ, ओम जैसी, दीपक कौशल, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव,  चन्द्र बहादुर थापा, सन्दिप अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।