
‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टीमले प्रतिष्पर्धा गर्ने
बिहिवार , पौष २८, २०७९
बुटवल, २८ पुस ।
दोस्रो लुम्बिनी प्रदेशस्तरीय ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता–२०७९ को तयारी पूरा भएको छ । खेलकुद सामग्री उत्पादन र विक्रीवितरण गर्दै आएको ब्राण्ड युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलन गरी आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।
तिलोत्तमा नगरपालिका रहेको ब्याडमिन्टन कोर्टमा पुस २९ र ३० गते दुई दिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको उनले बताए । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्दै दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको उनले बताए । पहिलो संस्करणमा ‘सि’ लेभल मात्र प्रतियोगिता गरेको भए पनि यसपटक थप भेटान्स खेल समेत थपिएको उनले बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैयाँ, उपविजेताले नगद २२ हजार रुपैयाँ र तृतीय दुई टीमले जनही नगद १६ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यसै गरी भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टीमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टीमलाई समेत पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) क्याबिनेट सेक्रेटरी सन्दिप कसौधनले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउन सफल रहेको क्लब खेलकुदमा पनि अग्रसर रहेको बताए । स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने भन्दै युवा खेलाडीहरु उत्पादनमा समेत यो प्रतियोगिता आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन लागेको उनले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष विजय बर्नवाल, अर्जुन कार्कीले ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टीमले प्रतिस्पर्धा गर्ने बताए ।
पहिलो संस्करणमा ‘सि’ लेभल मात्र खेलाउँदा ५ लाख रुपैयाँ खर्च भएको संयोजक दुर्गा आलले बताए । यसवर्ष भेट्रान्स खेलसमेत जोड्दा साढे ७ लाख बढी खर्च हुने अनुमान रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij