बिहिवार , पौष २८, २०७९
भैरहवा, २८ पुुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ स्थित नरैनापुरमा माघ १ गतेदेखि ५ गतेसम्म ‘चौथो ओमसतिया तथा कला संस्कृति महोत्सव–२०७९’ हुने भएको छ । श्री राम जानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन तथा संरक्षण समिति ओमसतिया–६ नरैनापुरको आयोजनामा महोत्सव हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
सम्पदा र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका–६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । नरैनापुर रंगशालामा हुने महोत्सवमा माघ १ देखि ३ गतेसम्म कुस्ती महामुकाबला प्रतियोगिता, ५ गतेसम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा बेलुकी ६ बजेदेखि बिराहा साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने धवलले जानकारी दिए । महोत्सवमा देवा पहलवानसहित अन्तर्राष्ट्रिय कुस्ती पहलवानहरुको सहभागीता रहने उनले बताए ।
उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनहरुको प्रदर्शन तथा विक्री, कृषि प्रदर्शन, माघीको अवसरमा खिचडी उत्सव, भुमडा प्रतियोगिता, बिराहा तथा थारु संस्कृति झल्किने कार्यक्रम समेत हुनेछ । ’महोत्सवमा प्रवेश तथा स्टल राख्न समेत निःशुल्क व्यवस्था रहेको उनले जानकारी दिए ।
महोत्सवमा करिब २० लाख खर्च लाग्ने आयोजकले जनाएका छन् । महोत्सबाट बचेको रकम एम्बुलेन्स खरिदमा प्रयोग गरिने तथा एम्बुलेन्स खरिदको सहयोगका लागि महोत्सवस्थलमा दानपेटिकामा राखिने आयोजकले जनाएका छन् ।
श्री राम जानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन तथा संरक्षण समिति ओमसतिया–६ का अध्यक्ष शिव कुमार धवलको अध्यक्षता, उपाध्यक्ष पार्वती चौधरीको स्वागत तथा आजीवन सदस्य पशुपति यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij