२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लुम्बिनी प्रेस क्लबको छैठौं वार्षिक साधारणसभा सम्पन्न

बिहिवार , पौष २८, २०७९

भैरहवा, २८ पुस । 

लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीको छैठौं वार्षिक साधारणसभा बुधबार मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लुम्बिनी प्रेस क्लबको भवन रहेको बताए । उनले मिडियाले राम्रो कामको उच्च मुल्यांकन र गलत कामको उजागर गर्दै समाचार सम्प्रेषण गरेको बताए । उनले भने, ‘लुम्बिनी प्रेस क्लबको भवन क्लबको मात्र नभइ वडा नम्बर ८ र मायादेवी गाउँपालिकाको समेत सम्पत्ति हो । ’उनले आगामी दिनमा पनि क्लबसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब एक जीवन्त र क्रियाशिल संस्था भएको बताए । उनले समाज रुपान्तरणका लागि क्लबले काम गर्दै आएको बताए । उनले भने, ‘स्थापनाको छोटो समयमा यो संस्थाले केही संस्थागत काम गरेको छ ।’

क्लबका महासचिव कमल रायमाझीले क्लबले समाजको ऐनाको रुपमा काम गरेको छ । उनले पत्रकारहरुको हित र विकासका लागि काम गर्ने क्लबको उद्देश्य भएको बताए । उनले भने, ‘सुन्दर समाजको निर्माणमा लुम्बिनी प्रेस क्लबको अभियान सधै सकारात्मक मार्गमा अगाडि बढ्ने कुरामा हामी विश्वस्त छौं ।’

साधारणसभामा लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य प्रितम रौनियार, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, निवर्तमान अध्यक्ष दीपेश पछाई, सल्लाहकार कुलमणि ज्ञवाली, तालिम समिति संयोजक दीपेन्द्र बडुवाल लगायतले बोल्दै आगामी नेतृत्वले पनि विगतमा क्लबले गरेका राम्रा कार्यको अनुसरण गर्दै जानुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अध्यक्ष केसीले अध्यक्षको प्रतिवेदन, महासचिव रायमाझीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईलाई सम्मान गरिएको थियो ।

क्लबको चौथो अधिवेशन आगामी माघ १४ गते हुने क्लबका पूर्व सचिव माधब न्यौपानेले बताए । वि.सं. २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका सचिव शंकर प्रसाद पाण्डेले जानकारी दिए ।