२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

‘पत्रकारको पारिश्रमिक वृद्धि गर्न आवश्यक’

मंगलवार , पौष २६, २०७९

भैरहवा, २६ पुस । पत्रकारको पारिश्रमिक वृद्धि गर्न आवश्यक रहेकामा जोड दिइएको छ ।

न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा पत्रकार महासंघ रुपन्देहीको संयोजनमा भएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चूनौती र भावी रणनीति विषयक अन्तरक्रियामा बोल्ने पत्रकारहरुले समय परिस्थिती अनुसार न्युनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिए ।

श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएअनुसार पारिश्रमिक, सञ्जयकोष, तालिम विमा लगायतका सुविधा नपाएको पत्रकारहरुको गुनासो थियो । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन सके पत्रकारिताको भविष्य सुरक्षित हुने बताइन ।

पारिश्रमिक लागू भएपछि अन्य सुविधाका विषय पनि लागू गराउने गरी समितिले पहल गरिरहेको उनको भनाइ छ । उनले तहगत वर्गिकरण गरेर पारिश्रमिक तोकिएको जनाउँदै अब बन्ने सञ्चारमन्त्रीलाई विवरण बुझाउने बताइन ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँले न्युनतम पारिश्रमिक निर्धारण समितिको कुनै औचित्य नरहेको बताए । “समितिको न सक्रियता रहयो न पत्रकारले राम्रो सेवा सुविधा पाउन सकेका छन् । तसर्थ यो समितिको औचित्य छैन”, उनले भने ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार आचार संहिताको पालनामा जिल्ला अगाडि देखिएको बताउँदै अब पत्रकारलाई उचित पारिश्रमिक दिने वातावरण बनाउन पत्रकार सम्बद्ध सबै संस्था लाग्नुपर्ने बताए ।

पत्रकार महासंघ रुपन्देहीका सल्लाहकारहरु दिनेश पाण्डे र यानेन्द्र जिसिले सरकारले सञ्चार संस्थाको प्रवद्र्धन गर्न नसेकेकाले सामूहिक आवाज उठाउन आवश्यक रहेको बताए ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य इन्दिरा अर्यालले पत्रकार र पत्रकार सम्बद्ध संस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबै एक हुन जरुरी रहेकामा जोड दिए ।

कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतम, प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका अध्यक्ष रेखा भुसाल, पत्रकारहरु सिपी खनाल, श्याम पोखरेल, भगवती पाण्डे, दिपक घिमिरे लगायतले न्युनतम पारिश्रमिक निर्धारण मात्रै गर्ने तर, कार्यान्वयन नहुने समस्या रहेको बताए ।