२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

मोक्षधाम सेवा आश्रममा तण्डुलाचल ज्ञान महायज्ञ 

सोमवार , पौष २५, २०७९

भैरहवा, २५ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीस्थित श्री मोक्षधाम सेवा आश्रममा स्वस्थानी ब्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ-२०७९ सञ्चालन भइरहेको छ ।

गत शुक्रबारदेखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गरेका हुन् ।

मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी पाठकले महायज्ञ वैदिक सनातन धर्म रक्षार्थ र राष्ट्र शान्तिका लागि आयोजना गरिएको बताए । महायज्ञ माघको २२ गतेसम्म सञ्चालन हुनेछ । एक महिनासम्म आयोजना हुने महायज्ञमा प्रत्येक दिन शिवपुराणका कथा, सत्संगका साथै अमृकुण्डमा शिव महाआरती हुने महायज्ञ आयोजक समितिका सचिव वेद प्रसाद न्यौपानेले जानकारी दिए ।
 

महायज्ञको प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारी रहेका छन् । संस्थापक संरक्षक पण्डित ईश्वर कृष्ण महाराज रहेको यस मोक्षधाम २०६६ सालमा स्थापना गरिएको हो । वैदिक धर्मको उन्नयन गर्ने उद्देश्यले पुराणमा उल्लेखित भारतका चारधाम जस्तै वद्रिनाथ, द्वारकाधिस, जग्गनाथ, रामेश्वरम, तथा नेपालका चारधाम विश्वनाथ (पशुपतिनाथ), रामजानकी धाम, मुक्तिनाथ, लुम्बिनी, पवित्र गगांहरु, सरोवरहरु र सागरहरुको जल भएको अमृतकुण्ड, बाल तथा वृद्धाश्रम, पूर्वीय दर्शनको अनुसन्धान केन्द्र स्थापना र सञ्चालन गर्ने मोक्षधामको परिकल्पना रहेको अध्यक्ष पाठकले बताए ।

‘माधव सेवा र मानव सेवाको नाम, आठ धाम एकै ठाउँ’ भन्ने मूल नाराका साथ १२ वर्षअघि स्थापना भएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृतकुण्ड, बाल तथा वृद्धाश्रम भवन, अतिथि गृह सभाहल, मानवसेवा भवन निर्माण र पाँच धामका मन्दिरहरुको जग निर्माण सम्पन्न भएको पाठकले दिए ।