सोमवार , पौष २५, २०७९
काठमाडौं, २५ पुस ।
नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासका लागि विगत ८ वर्षदेखि क्रियाशील संस्था मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ ।
‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स’ नामका यी पुरस्कार मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न स्थापना गरेको हो ।
यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरी तीन विधामा प्रदान गरिने छ । हरेक विधामा पुरस्कारका साथ रु. २५ हजारको नगद राशी र प्रशंसापत्र पनि प्रदान गरिनेछ ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको हो ।
‘स्वतन्त्र पत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरूबाट आक्रमण भइरहेको र सञ्चारमाध्यमको विश्वसनीयतामा राज्य र समाजका विभिन्न अंगहरूबाट नियमित रूपमा प्रश्न उठिरहेको अवस्थामा यी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनताप्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाशमा ल्याउने हामीले विश्वास गरेका छौं, ’उनले भने ।
सन् २०२३ मा भने, ‘पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले, मिडिया एक्सन नेपालले तीनै विधालाई समावेश गरि एकल पुरस्कार प्रदान गर्नेछ ।’
मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । कार्की विगत लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका छन् । प्रेस काउन्सिलमा रहँदा र त्यसअघि र पछि पनि उनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदान दिएका छन् । जनवरी १० (पुस २६ गते) मंगलबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा उनलाई सम्मान गरिने छ ।
सन् २०१५ मा स्थापना भएदेखि नै मिडिया एक्सन नेपालले राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग सहकार्य गरि अनुसन्धान, संवाद, वकालत, प्रकाशन तथा अभिलेखीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत स्वतन्त्र र जिम्मेवार प्रेस निर्माणमा अग्रगामी भूमिका खेल्दै आएको छ । देशका सातै प्रदेशमा उपस्थिति रहेको यस संस्थाले हालसम्म ५ हजारभन्दा बढी नेपाली पत्रकारहरूसँग काम गरिसकेको छ । यसले विशेष गरी मिडिया फ्रिडम कोलिसनमार्फत विश्वव्यापी रूपमा नै नेपालको मिडिया परिप्रेक्ष्य प्रस्तुत गर्दै देशको आवाज उठाउँदै आइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij