
बिहिवार , पौष ९, २०७७
काठमाडौं, ९ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिवाद र बिभाजनपछि पार्टीको आधिकारिकताको दावी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।
सो समूहका तर्फबाट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय सहित निवेदन दर्ता गरिएको हो ।
गत मंगलबार पार्टीका बहुमत सदस्यको उपस्थितीमा भएको निर्णयका बारेमा निर्वाचन आयोगको लागि जानकारी तथा आवश्यक कारवाहीका लागि भन्दै आयोगमा पत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त समूहले ४ सय ४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २८७ जना आफ्नो पक्षमा रहेको जिकिर गर्दै पार्टीको आधिकारिकता अर्थात नाम, चुनाव चिन्ह र झण्डा आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ ।
आयोगका प्रबक्ता श्रेष्ठका अनुसार उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान लगाएतका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका थिए । उता अर्को पक्षले आधिकारिकता आफुसँगै रहेको दावी गर्दै आज बिहिबार निर्वाचन आयोगमा पुगेर निवेदन दर्ता गर्ने संभावना रहेको नेकपा श्रोतले जनाएको छ ।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij