
शनिवार , पौष २३, २०७९
बुटवल, २३ पुस ।
रोटरी क्लब अफ बुटवलले शनिबार शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रलाई ह्वील चेअर वितरण गर्नुका साथै वनवाटिका क्षेत्रभित्र रहेको रोटरी परियोजनाको अवलोकन गरेको छ । क्लबको १४ सय ४५ औं नियमित बैठकको अवसर पारेर वनवाटिकालाई दुईवटा ह्वील चेअर प्रदान गरिएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए । क्लबले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मालाई ती ह्वील चेअर हस्तान्तरण गरेको हो ।
क्लबले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शंकरनगर वनवाटिका क्षेत्रभित्र बाल उद्यान निर्माण गर्नुका साथै बाल रेल सञ्चालनमा ल्याएको छ । त्यस्तै वनवाटिका क्षेत्रभित्रै क्लबले ई–लर्निङ साइन्स एण्ड थिएटरको पनि स्थापना गरेको छ । कार्यक्रमका अवसरमा बोल्दै केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वनवाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजना यहाँको पर्यटकीय विकासका लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै यसबाट संस्थागत सम्बन्ध पनि थप सुदृढ बन्दै गएको बताए । त्यस्तै उनले अब केन्द्रका लागि पशु एम्बुलेन्स आवश्यक रहेको भन्दै त्यसका लागि पनि क्लवको ध्यानाकर्षण गराए ।
केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले यहाँ सञ्चालनमा रहेको बालरेलबाट मात्रै मासिक ३ देखि ८ लाख रुपियाँसम्म आम्दानी हुने गरेको जानकारी थिए । रोटरी क्लबले सन् २०११/१२ देखि वनबाटिकामा विभिन्न पार्क तथा सेड निर्माण गरी काम गर्न सुरु गरेको थियो ।
नियमित बैठकमा बोल्दै क्लबका अध्यक्ष बोनिन पियाले अब क्लबले यस क्षेत्रभित्र तारा मण्डल निर्माण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले यहाँ सञ्चालित परियोजना वनवाटिकाको विकासको लागि मात्र नभएर सिंगो लुम्बिनी प्रदेशकै लागि महत्वपूर्ण रहेको बताए ।
बैठकमा क्लबका पूर्वअध्यक्ष कृष्णप्रसाद अर्यालले वनवाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजनाबारे विगतदेखि वर्तमानसम्म प्रकाश पारेका थिए । बैठकमा क्लबका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी दिएका थिए भने रोटरीयनहरु मणिरत्न पाण्डे, संगीता गौतम अर्याल, मन्जु भुसाललगायतले पनि आ–आफ्नो भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij