बुधवार , पौष २०, २०७९
भैरहवा, २० पुस । लुम्बिनी प्रदेशको रुपन्देहीसहित तराईका जिल्लामा विगत केही दिनदेखि अत्यधिक चिसो बढेको छ । बिहान बाक्लो हुस्सु र अत्यधिक जाडोका कारण जनजीवन प्रभावित भएको छ । लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा अत्यधिक रुपमा चिसो बढेको छ । बिहानैदेखि हुस्सु र शितलहर चल्न थालेपछि चिसो बढेको हो । यस वर्ष पुसको मध्यबाट चिसो बढेको हो । प्रदेशका पहाडी क्षेत्रमा कुहिरो र तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुन थालेका छन् ।
सोमबारदेखि भैरहवा लगायतका स्थानमा शितलहर शुरु भएको छ । हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । आइतबारसम्म घाम लागेको थियो । तर सोमबारदेखि अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
चिसोका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको छ । बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । बालरोग विशेषज्ञ तथा भीम अस्पताल, भैरहवाका सूचना अधिकारी डा. आरिफ हुसेनले अस्पतालमा बिरामीको चाप बढेको बताए । उनले अधिकांशमा श्वासप्रश्वास, रुघाखोकी, पेट दुख्ने, निमोनिया, एलर्जी, बान्ता जस्ता स्वास्थ्य समस्या भएका बिरामी अस्पतालमा आउने गरेको जानकारी दिए । उनले भने, ‘बिरामीको संख्या बढेको छ, विगत केही दिनदेखि अस्पतालमा आउने बिरामीको संख्या बढेको छ ।’
शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको व्यवसायी रेखा प्रसाद चौधरीले बताए । उनले मुख्य बजार क्षेत्रमा समेत चहलपहल कम भएको बताए । उनले भने, ‘अत्यावश्यक कामबाहेक सर्वसाधारण घर बाहिर आउन सकेका छैनन्, व्यापार–व्यवसायमा समेत कमी आएको छ ।’ अत्याधिक चिसोका कारण सवारीसाधन समेत कम चलिरहेको चौधरीले बताए ।
चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू मारमा परेका छन् । भैरहवामा जुत्ता तथा कपडा सिलाउँदै आएका मजदूरले चिसोका कारण आफूहरुलाई निकै समस्या भएको बताएका छन् ।
शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिनुपर्ने अधिवक्ता प्रख्यात बन्जाडेले बताए । उनले यसतर्फ सरकार गम्भिर बन्नुपर्ने बताए । उनले भने, ‘शीतलहरबाट प्रभावित नागरिकको तथ्यांक संकलन गरी वास्तविक प्रभावितकै हातमा पुग्ने गरी कम्मल लगायतका सामग्री उपलब्ध गराउनुपर्छ ।’
जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले ६ दिन विद्यालयहरु बन्द गरेको छ । चिसो बढेपछि बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका लगायत पालिकाहरुले पनि विद्यालय बन्द गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij