
सोमवार , पौष १८, २०७९
बुटवल, १८ पुस ।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष दान बहादुर चौधरीले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भएको देशको एक फूल थारु समुदाय भएको बताए । थारु समुदायका नेतृत्व एकढिक्का हुनुपर्नेमा जोड दिदै वडाअध्यक्ष चौधरीले नयाँ पुस्ताले थारु भाषा, संस्कृति र साहित्यको अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताए ।
त्यस्तै विशिष्ट अतिथि थारु कल्याणकारी सभा रुपन्देहीका सभापति सतिश कुमार चौधरीले थारु समुदायलाई राज्यको पहुँचमा पुग्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने बताए ।
थारु राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष रेखा प्रसाद चौधरी, थारु अगुवाहरु कनै थारु, अशोक कुमार चौधरी, बासुदेव चौधरी लगायतले जातीय पहिचानको लागि थारु समुदाय एक हुनुपर्नेमा जोड दिदै भाषा धर्म, संस्कृति, कला साहित्य, परम्परा, रितिरिवाजको संरक्षण र सम्बद्र्धन गर्न युवाहरुको सक्रियता आवश्यक रहेको बताए ।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीका अध्यक्ष अनिरुद्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाले थारु समुदायको कला संस्कृति, रिति रिवाजको सम्बद्र्धन र प्रबद्र्धनका लागि यही माघ ७ गते तिलोत्तमा नगरपालिकाको वनवाटिकामा राष्ट्रियस्तरको संस्कृति महोत्सव २०७९ मनाउने निर्णय समेत गरेको छ । उक्त महोत्सवमा थारु, मगर, नेवा, गुरुङ्ग, थकाली समुदायको सांस्कृतिक झांकी समेत प्रदर्शन गर्ने सभाले निर्णय गरेको छ ।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीका उपाध्यक्ष पल्टन प्रसाद चौधरीको स्वागत तथा सचिव राज चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij