
सोमवार , पौष १८, २०७९
भैरहवा, १८ पुस ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले सत्तापक्ष–प्रतिपक्ष भन्नु भन्दा निष्पक्ष तरिकाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले सम्पूर्ण प्रदेशसभा सदस्य मिलेर प्रदेशलाई अगाडि बढाउनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको सोमबार दोस्रो बैठकमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पाण्डेयले भने, ‘यसअघिका माननीयले गरेनन् र आउनेले गर्दिन्छन भन्ने सोच राख्यौं भने पक्कै सक्दैनौं ।’ लुम्बिनी प्रदेशमा उद्योगी–व्यवसायीको संख्या बढी रहेकोले आर्थिक संकटको समस्या समाधानका लागि प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए । नेता पाण्डेयले चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी समस्यामा परेकाले समस्या समाधानका लागि अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘लामो संघर्षपघि संघीयताको माध्यमबाट मुलुकमा प्रदेशसभाको स्थापना भएको छ । केन्द्र सरकारको दृष्टि सबै क्षेत्रमा नपुगेकाले नेपालमा यसको स्थापना भएको हो । यसकारण सबै मिलेर निष्पक्ष तरिकाले प्रदेश सभालाई अगाडी लैजानुपर्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले सत्ता पक्ष र विपक्ष नभइ निष्पक्ष रुपमा मिलेर प्रदेशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । .
लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका पाण्डेयले लुम्बिनीको १२ वटै जिल्ला पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध रहेको कारण लुम्बिनीलाई केन्द्रमा राखी प्रदेशलाई नै पर्यटकीय प्रदेशको रुपमा विकास गर्न सरकार अगाडी बढनुपर्ने बताए ।
बैठकमा प्रदेशसभा सदस्य लिला गिरी, डिल्ली बहादुर चौधरी, जोख बहादुर महरा, सन्तोष कुमार पाण्डेय, आशिष कुमार चौधरी, चन्द्रेश्वर गुप्ता (सि.के.), भण्डारीलाल अहिर, धर्म बहादुर चौधरी, भगवती अधिकारी, तारा थापा लगायतले बोलेका थिए । दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ । लुम्बिनी प्रदेशसभाका १० वटा दलको सहभागिता रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij