२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई

आइतवार , पौष १७, २०७९

भैरहवा, १७ पुस ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा काशी नोबल एकेडेमी, भैरहवालाई ४७ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जित्न सफल भएको हो ।

उपाधि विजेता न्यु होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको काशीले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको योगफल बनायो । उसका लगि अमर मिश्राले ३४, प्रकाश गिरीले ३३, आशिष लोहनीले २० र सुमित पराजुलीले १८ रनको योगदान दिए । बलिङमा काशीका शंकर राना, सुप्रित घिमिरे र सिद्धार्थ अधिकारीले समान २–२ तथा सेजाद आलम र सन्देश जिसीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशी निर्धारित खेलमा ८ विकेटको क्षतिमा ८९ रनमै समेटियो । उसका लागि शंकर रानाले २३, सन्देश जिसीले नटआउट १४ र सिद्धार्थ अधिकारीले १२ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुमित पराजुलीले २–२ तथा निर्मल गुरुङ र प्रकाश गिरीले १–१ विकेट लिए ।

प्रतियोगिताका न्यु होराइजनका अमर मिश्रा म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान र म्यान अफ द फाइनल भए । उनी सबै विधामा गरेर ११ हजार रुपैयाँ प्राप्त गरे । भैरहवाको जेसिज उच्च मावि अनुशासित टीम घोषित भयो ।

विजेता खेलाडीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, प्रतियोगिताको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय राजेश कुमार अग्रवाल र महेन्द्र कुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, उद्योगपति ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेलगायतले पुरस्कार प्रदान गरेका थिए । सामुदायिक र निजी विद्यालयका गरी २० टीम सहभागी प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।