
शनिवार , पौष १६, २०७९
भैरहवा, १६ पुस ।
लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान गरौँ, प्राण बचाऔँ’ भन्ने नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको प्रमुख अतिथि तथा समाजका सल्लाहकार सुशील गुरुङले उद्घाटन गरेका हुन् । कार्यक्रममा कार्यक्रम संयोजक रूपेन्द्र अधिकारी, कोषाध्यक्ष दीपक पौडेल, आशिका थापा, गुड्डु कहार, धनराज हरिजन, ललिता चौधरी, दीपा चन्द ठकुरी, कृष्णा गौली, निर्मल तिवारी, राहुल न्यौपाने, राजुचन्द ठकुरी, गीता गुप्ता, निश्चल नराल र गिरिजा शाही ठकुरीले रक्तदान गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष डा. ज्ञानदेव हटुवालले लमजुङबाट रूपन्देहीमा आएर बसोबास गरिरहेका र लमजुङका जनताबीच जनस्तरमा सामाजिक, साँस्कृतिक, पर्यटकीय सम्बन्ध विकास गर्ने उद्देश्यले समाजको गठन भएको बताए । उनले दोस्रो वर्ष प्रवेशको अवसरमा सामाजिक कार्यअन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
समाजका उपाध्यक्ष हरिराज विष्टले स्वागत तथा सचिव पुष्प घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १४ युनिट रगत संकलन भएको समाजले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij