
शनिवार , पौष १६, २०७९
भैरहवा, १६ पुस ।
यही पुस ११ र १२ गते भारतको महाराष्ट्र प्रदेश पुने शहरस्थित नेताजी सुवासचन्द्र बोस मिल्ट्री स्कुल इनडोर स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ च्याम्पियनसीप–२०२२ प्रतियोगितामा सहभागी कराँते खेलाडीहरूलाई शुक्रबार बेलहिया नाकामा स्वागत गरिएको छ ।
लुम्बिनी खुकुरी क्लब बेलहियाका पूर्वअध्यक्ष तथा समाजसेवी देवराज न्यौपानेले अबिर तथा माला पहिराउदै खेलाडीहरूले राष्ट्रको नाम उचो राखेकोमा बधाई दिन पाउँदा आफू मात्र नभइ सिंगो नेपाल खुशी भएको बताए । उनले खेल र खेलाडीलाई सधै सहयोग गर्न प्रयत्न रहने बताए ।
स्वागत तथा बधाई समारोहमा प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका संघका केन्द्रिय प्रमुख सल्लाहकार भरत बहादुर केसीले च्याम्पियनसिपबारे प्रकाश पारेका थिए । त्यस्तै संघका केन्द्रिय उपाध्यक्ष सतिश कुमार चौधरीले भारत जाने बेला लगाइदिएको फूलको माला र सुनको माला लगाएर फर्किदा खुशीको अनुभुति भएको बताए ।
समारोहमा कराँते खेलाडीहरुलाई नेपाल रेडक्रस सोसाइटी बेलहिया शाखाका सभापति सुमन शर्मा, पर्यटन प्रहरी उपशाखाका बेलहियाका प्रहरी सहायक निरीक्षक राजकुमार खत्री, संघका जिल्ला उपाध्यक्ष धना थापा, उपभोक्ता मञ्च रूपन्देहीका अध्यक्ष भगवती भण्डारी, समाजसेवी पंकज उदास, स्थानीयबासी, प्रहरी र खेलाडीहरूका अभिभावकहरूले स्वागत गरेका थिए ।
त्यस्तै विजेता खेलाडीहरूलाई श्री बासघारी देवी युवा क्लब तिलोत्तमा नगरपालिका–६ पश्चिम पौनीले पनि सम्मान गरेको छ । १० स्वर्ण, २ रजत पदकसहित १२ पदक ल्याएर नेपाल दोस्रो हुन सफल भएको जापान गोजूरियो कराते डो मिसन संघ, नेपाल रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगरले बताए । प्रतियोगितामा श्रीलंका प्रथम भएको थियो । उक्त प्रतियोगितामा सहभागी हुन जापान गोजूरियो कराते डो मिसन संघ, नेपालका संस्थापक तथा प्रमुख प्रशिक्षक के.बि. रानाको नेतृत्वमा ११ जना खेलाडी र ४ जना अफिसियल गरी १५ जना भारत पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij