२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

पत्रकारका लागि सत्तामा को पुग्यो भन्ने कुरा ठूलो हुँदैन : अध्यक्ष पोखरेल

बिहिवार , पौष १४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १४ पुस ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारका लागि सत्तामा को पुग्यो भन्ने कुरा ठूलो नभएको बताएका छन् । उनले सरकारबाट जनताले सहज रुपमा सेवा प्राप्त गर्छन् वा गर्दैनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए । 

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सातौं स्थापना दिवस समारोहको बिहीबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष पोखरेल पत्रकार महासंघ कुनै पनि सरकारसँग सन्तुष्ट हुन नसकेको बताए । उनले महासंघले सञ्चार विधेयकको विरोध गर्दै आएको बताए । उनले भने, ‘प्रेस स्वतन्त्रतामैत्री कानून आवश्यक छ । ’ सुशासनको पक्षमा लाग्नुपर्छ भन्ने सन्देश हालै सम्पन्न निर्वाचनले दिएको बताए । पत्रकारले आफ्नो धर्म निर्वाह गर्दै नागरिकलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । सामाजिक रुपान्तरणका लागि मिडिया तटस्थ हुनुपर्नेमा उनले जोड दिए । राजनीतिक तथा सामाजिक क्षेत्रले पनि पत्रकारलाई काखा र पाखा गर्न नहुने पोखरेलले बताए । पत्रकार चनाखो र सचेत भइ खबरदारी गर्नुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेलले भने, ‘पत्रकारिताको लय र आयाम पनि परिवर्तन गर्नुपर्छ । ’ पत्रकार महासंघ र लुम्बिनी प्रेस क्लबले आ–आफ्नो भूमिका निर्वाह गरेको उनले बताए । लुम्बिनी प्रेस क्लबले आफ्नो भूमिका र लक्ष्य तय गर्दै अगाडि बढेको भन्दै उनले क्लबको सफलताको शुभकामना व्यक्त गरे । क्लबको क्रियाशिता सुखद पक्ष भएको र यसले पत्रकार महासंघको अभियानमा समेत सहयोग गर्ने उनको भनाइ थियो ।
    पछिल्लो समय पत्रकारितामाथि विश्वसनीयता स्खलित भइरहेको भन्दै सुधार गर्दै अगाडि बढ्नुपर्ने अध्यक्ष पोखरेलले बताए । उनले भने, ‘समाजका विभिन्न क्षेत्रमाथिको विश्वसनीयता स्खलित भइरहेको छ, तर यो भनिरहँदा पत्रकारिताप्रति विश्वास गर्नेको संख्या बढिरहेको छ, ठूलो जमातले विश्वस गरिरहेको छ । ’ पत्रकार आफै सच्चिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । समुदायको समस्या र प्राथमिकताबारे मिडियाले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

    त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हालै सम्पन्न निर्वाचनमा स्थानीय प्रशासन तथा निर्वाचन सम्पन्न गराउन जिम्मेवारी पाएको संयन्त्रलाई पत्रकारबाट अत्यन्तै महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । उनले आगामी दिनमा पनि साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले अग्रज पत्रकारहरुलाई लुम्बिनी प्रेस क्लबले सम्मान गरेको देख्दा आफू क्लब भन्दा तीन गुना खुसी भएको बताए । उनले पत्रकारले आफ्नो ज्यान समेत जोखिममा राखेर काम गरिरहेको बताए । उनले प्रेस जगतका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले पत्रकारिता क्षेत्र पनि समावेशी हुनुपर्ने बताइन् । उनले लुम्बिनी साँस्कृतिक नगरपालिकाले लुम्बिनी प्रेस क्लबसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् । 

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले स्थापनाको छोटो समयमा नै लुम्बिनी प्रेस क्लबले धेरै प्रगति गरेको बताए । उनले आगामी दिनमा पनि क्लबले रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले प्रेस क्लबले अनुकरणीय कार्य गरेको बताए । उनले पत्रकार र निजी क्षेत्र तथा संघ-संस्थाबीच नङ र मासुको सम्बन्ध जस्तै भएको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अब सञ्चार क्षेत्रले आर्थिक विषयमा बहस थाल्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र धरासायी भएको र निजी क्षेत्रलाई उकास्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

    गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले रुपन्देही सञ्चार क्षेत्रको हब बनेको बताए । लुम्बिनी प्र्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले अग्रज पत्रकारहरुको प्रेरणाले आफू यहाँसम्म आइपुगेको बताए ।

    अग्रज पत्रकार देवी प्रसाद पाण्डेले उद्योग, कृषि, पर्यटन क्षेत्रका समस्यालाई मिडियामार्फत जोडदार रुपमा उठाएर राज्यको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता, क्लबकी उपाध्यक्ष सम्झना शर्माको स्वागत, सचिव एवं कार्यक्रम संयोजक शंकर प्रसाद पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।