२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मेरुदण्ड भाँचिएकी भुसाललाई उपचारका लागि आर्थिक अभाव

सोमवार , पौष ६, २०७७

गुल्मी, ६ पुस ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर २ बाझँकटेरी सिराहा कि खगिश्वरा भुसाल विगत केही महिनादेखि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा छटपटाइरहेकी छन् । आर्थिक समस्याका कारण कहिले गाउँ त कहिले अस्पतालका बिस्तारामा छट्पटाइरहेकी भुसाललाई  उपचारका लागि परिवारले आर्थिक सहयोगकोे आहारगुहार गरिरहेको छ  ।

भुसालको २०७७ साल भदौ २१ गते रागोंले लखेटेपछि भिरबाट १ सय मिटर तल लड्दा मेरुदण्ड भाचिँएको थियो । भुसाल उमेरले ४६ वर्षकी भएकी छन् । मेरुदण्ड भाचिँएकी भुसाललाई उपचारको लागि परिवारले गाउँकै स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास र भरतपुर अस्पताल चितवनसम्म लगेर आर्थिक अभावका कारण घर फकाइएको छ । भुसाललाई निःशुल्क उपचार गर्नका लागि श्रीमान् देवीराम भुसालले आशा अपांग केन्द्र ल्याई थेरापियो माध्यमबाट उपचार गराइरहेका छन् ।  

खगिश्वरा आसु निकाल्दै भन्छिन् ‘म त यस्तै भइहाले तर उपचारमा लागेको ऋण, मेरो परिवारको भविष्य के होला ?’ भन्दै देश तथा विदेशमा रहेका नेपालीसंग सक्दो सहयोगको अपिल गरेकी छन् । 

उनको श्रीमान्ले २०६१ सालदेखि गाउँकै बाल विकास नि. मा. वि. मा कार्यालय सहयोगीको काम गर्दै आएका छन् । विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरी जीविकोपार्जन गर्दै आएका देवीरामलाई जागिरबाट हात धुने अवस्था आएको छ । उनी जागिर छोडेर यतिबेला श्रीमतीको उपचार लागि आशा अपाङ्ग केन्द्र तम्घासमा छन् । उनको दैनिकी विद्यालयमा होइन श्रीमतीको स्याहार सुसारमा चलेको छ । उता घरमा छोराछोरीको बिचल्ली छ । भुसालको परिवारमा ८ जना रहेका छन् ।  ६ सन्तानमध्ये २ छोरा र ४ छोरी रहेका छन् । उनको सानो छोरा कक्षा आठमा अध्ययन गर्छन् ।  श्रीमतीको उपचारमा लागेकोे ऋण र छोराछोरीको भविष्य सम्झेर आसु निकाल्नुबाहेक अरु विकल्प नरहेको बताउँछन् देवीराम । 

भुसाल भन्छन् ‘श्रीमतीको उपचारको लागि मात्रै गाउँबाट खोजेर लगेको ऋण ७ देखि ८ लाख पुग्यो अब श्रीमतीको उपचारलाई पैसा दिन कोही पताउँदैनन्” । अब बाँकी उपचारको लागि कति लाग्ने भन्ने टुंगो नै छैन् ।  यतिबेला श्रीमतीको उपचारको लागि आर्थिक जोहो गर्ने गाह्रो परेपछि देवीरामले देश–विदेशमा रहेका नेपालीसंग सहयोगको माग गरिदिन मिडियालाई अपिल गरिरहेका छन् ।  आशा अपांग केन्द्र तम्घासमा थेरापीबाहेक अन्य उपाय नभएकाले उनको उपचारको लागि पोखरा र काठमाडौँ जानुपर्ने पिजीयोथेरापिष्ट डा. सुभाष राई बताउँछन्  । 

भुसाल जस्ता धेरैलाई आशा अपांग केन्द्र गुुल्मीले नयाँ जीवन दिनुका साथै निःशुल्क सहयोग गर्दै आइरहेको छ । अपांग केन्द्र तम्घासले अपांगता भएकाहरुलाई अपांगमैत्री चर्पी, आगँन, घरवरीपरीको बाटो निर्माण गर्नुका साथै आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको आशा अपाङ्ग केन्द्रकी प्रमुख गंगा रायमाझीले बताइन् ।  रायमाझीका अनुसार भुसालको परिवार आर्थिक अभाव भएकै कारण पोखरा, काठमाडौँ जान नसकेपछि आशा अपांग केन्द्र गुल्मीमा सक्दो उपचार गर्दै आएको बताइन् । भुसाललाई सहयोग गर्ने चाहनुहुने महानुभावले ९८५७०६७७३८ मा फोन गर्ने सक्ने उनको परिवारले जनाएको छ ।