बुधवार , पौष ६, २०७९
भैरहवा, ६ पुस ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको मंगलबार बसेको विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रथम विधान सम्मेलनले दिएको सुझावका आधारमा विधान मस्यौदा समितिले क्लबको विधान पहिलो संशोधन २०७९ साधारण सभामा पेश गर्ने गरी मस्यौदा समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसै गरी क्लबको यही पुस १४ गते परेको स्थापना दिवस (वार्षिक उत्सव) कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि यही पुस ९ गते शनिबारका दिन रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । पुस ९ गते बिहान क्लबको कार्यालय जनकपथमा रक्तदान गर्ने कार्यक्रमको संयोजन अनुशासन समिति संयोजक पशुपति यादवलाई दिने बैठकले निर्णय गरेको छ ।
बैठकले हिजो, आज र भोलिको पत्रकारितासम्बन्धी कार्यक्रम गर्नका लागि क्लबका उपाध्यक्ष सम्झना शर्मालाई संयोजक तोक्ने निर्णय गरेको छ । जसका लागि पुस १३ गते गर्ने कार्यक्रममा ४ शेसन चलाउने निर्णय गरेको छ । हिजोको पत्रकारिताका बारेमा नारायण प्रसाद सापकोटा, करुणानिधि शर्मा र दिलिप भट्टराईले सेसन चलाउनेछन् ।
त्यस्तै आजको पत्रकारिता विषयमा माधव ढुंगाना, कुलमणी ज्ञवाली र मनोरञ्जन शर्माले सेसन चलाउनेछन् । त्यसै गरी भोलिको पत्रकारिता विषयमा दिपेश पछाई, दीपेन्द्र बडुवाल र शारदा मल्ललाई सेसन सञ्चालनको जिम्मा दिने बैठकले निर्णय गरेको छ ।
क्लब स्थापना दिवस समारोह पुस १४ गते दिउँसो नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता एवं पत्रकार सम्बद्ध संघ–संस्था, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुको उपस्थितिमा मनाउने बैठकले निर्णय गरेको छ ।
सो समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका १ जना पत्रकारलाई लुम्बिनी प्रेस रत्न २०७९ बाट नगद २५ हजारसहित सम्मान गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रमको संयोजकको रुपमा पूर्व निर्णयअनुसार क्लबका सचिव शंकर पाण्डे संयोजक तथा सदस्यमा दीपक घिमिरे र माधव न्यौपानेलाई जिम्मा दिने निर्णय गरेको छ ।
सिद्धार्थनगर क्षेत्रमा रहेका सञ्चार सम्बद्ध मिडिया हाउसमा कार्यरत सञ्चारकर्मी, प्राविधिक, वितरकलगायतलाई समेटेर एकदिने पत्रकार अभिमुखीकरण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । यही पुस २५ गतेभित्र गर्ने कार्यक्रमलाई सफल पार्न क्लबका पूर्व सचिव माधव न्यौपानेलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
वातावरण र पर्यावरणसम्बन्धी सचेतनामूलक कार्यक्रम रुपन्देहीको सियारी गाउँपालिकामा गर्ने बैठकले निर्णय गरेको छ । जसका लागि यही पुस २५ गतेभित्र गर्ने गरी क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेलाई जिम्मेवारी दिएको क्लबका महासचिव कमल रायमाझीले जानकारी दिए ।
त्यसै गरी बैठकले पर्यटन प्रबद्र्धनमा पत्रकारितासम्बन्धी कार्यक्रम गर्नका लागि क्लबका संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मालाई जिम्मा दिने निर्णय गरेको छ ।
क्लबका सदस्य तथा पूर्व कोषाध्यक्ष दीपक घिमिरे सियारी गाउँपालिकाको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्ने बैठकले निर्णय गरेको छ ।
क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा संस्थापक अध्यक्ष माधव ढुंगानाको प्रमुख आतिथ्यतामा बसेको बैठकको सञ्चालन महासचिव कमल रायमाझीले गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij