
मंगलवार , पौष ५, २०७९
भैरहवा, ५ पुस ।
रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबार (भोलि) देखि भैरहवामा अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा पुस १६ गतेसम्म प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
क्रिकेटको विकासमा स्कूल र कलेजस्तरको प्रतियोगिताले भविष्यका निम्ति नयाँ प्रतिभा उत्पादन गर्ने दिशातर्फ महत्वपूर्ण भूमिका खेल्न कुरामा संघ विश्वस्त रहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताए । उनले भने, ‘विगतमा रुपन्देहीबाट राष्ट्रिय टीममा धेरै खेलाडीको वर्चश्व हुने गथ्र्यो, अहिले केही कमी भएको छ, ‘हामी विद्यालय र कलेजस्तरबाट अधिक खेलाडीहरु उत्पादन गर्न चाहन्छौं । धेरै खेलाडी उत्पादन भए भने पक्कै पनि विगतको जस्तै राष्ट्रिय टीममा वर्चश्व राख्नेछन् ।’ उनले नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकास गर्ने आफूहरुको लक्ष्य भएको बताए ।
प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक कलेज गरी २० वटा टीमको सहभागिता रहने संघका सचिव संजय गुरुङले बताए । उनकाअनुसार हरेक कलेजले आफ्नो टीममा बढीमा दुईजना बाह्य खेलाडी राख्न सक्नेछन् । यसका लागि नेपाली खेलाडी अनिवार्य गरिएको गुरुङले जानकारी दिए ।
प्रतियोगितामा साई ग्लोबल एकेडमी (ए) र (बी) भैरहवा काशी नोबल एकेडमी, भैरहवा, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, न्यू होराइजन कलेज, बुटवल, रुपन्देही लीलाराम न्यौपाने उच्च मावि, भैरहवा, लुम्बिनी इञ्जिनियरिङ कलेज, भलवारी, बुटवल मोडल कलेज, लखनचोक, सेन्ट जोसेफ कलेज, भलवारी, शान्ति नमूना उच्च मावि, मणिग्राम, नेपथ्य कलेज, मणिग्राम, सिद्धार्थ इन्टरनेशनल कलेज, बुटवल, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय, बेलवास, होराइजन जीबीएस, ड्राइभर टोल, कालिका उच्च मावि बुटवल, सीसीटी कलेज, बुटवल, जेसिस उच्च मावि, भैरहवा, राममणि क्याम्पस, मणिग्राम, मुनलाइट उच्च मावि, भैरहवा र ग्रीनप्लान्ट उच्च मावि, देबदह सहभागी हुनेछन् ।
प्रतियोगितामा विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसै गरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संयोजक विजय सिंह ज्ञवालीले बताए । यस्तै, प्रतियोगितामा अनुशासित एक टीमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले विगतमा जिल्लास्तरीय साई ग्लोबल कप क्रिकेट आफूहरुले नै आयोजना गर्दै आएकोमा यस पटकदेखि क्रिकेट संघसँग सहकार्य गरिएको बताए । संघले क्रिकेटको विकासमा ल्याएका योजनाहरु राम्रा भएकाले आफूहरुले सहकार्य गरेको उनले बताए ।
बुधबार उद्घाटन खेल साई ग्लोबल (ए) र न्यू होराइजन कलेजबीच हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij