
आइतवार , पौष ३, २०७९
भैरहवा, ३ पुस ।
श्री चित्रांश समाज सिद्धार्थनगर नगरपालिका–६ को आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर पसिरमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको समाजका वरिष्ठ सल्लाहकार तथा सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले रक्तदान गरेर शरीर कमजोर हुन्छ भन्ने सोच राख्न नहुने बताए । उनले २३ वर्षको अवधिमा आफूले ९७ पटक रक्तदान गरिसकेको जानकारी दिए । उनले भने, ‘रक्तदान गर्न प्रोत्साहन गर्नुपर्छ, रगतको अभावमा कुनै बिरामी वा दुर्घटनामा परेका व्यक्तिको ज्यान जानु राम्रो होइन ।’ उनले आफू निजी जीवन त्यागेर जनताको सेवामा लागेको बताए ।
लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले सबैको सहयोगले आफू दोस्रोपटक निर्वाचित भएको बताए । उनले भने, ‘कसैप्रति पनि विभेद गर्दिन ।’ उनले चित्रांश समाजका व्यक्तिहरु राज्यका ठूलो ओहोदामा पुग्न सफल भएको बताए ।
त्यस्तै सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले मानव भएर मानवको सेवा गर्नुपर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफूले अहिलेसम्म २७ पटक रक्तदान गरिसकेको बताए । उनले रक्तदान जीवनदान भएको बताए ।
श्री चित्रांश समाजका वरिष्ठ सल्लाहकार अजय वर्माले रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष केदारनाथ श्रीवास्तवको अध्यक्षता, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, समाजका सदस्य राजेन्द्र प्रसाद श्रीवास्तवको स्वागत तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१)बाट नवनिर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयलाई सम्मान गरिएको समाजले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij