२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रोटरी क्लब अफ बुटवलको तेस्रो क्लब एसेम्बली

शनिवार , पौष २, २०७९

बुटवल, २ पुस ।
रोटरी क्लब अफ बुटवलको तेस्रो क्लब एसेम्बली एवं क्लबको १४४२ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । तेस्रो क्लब एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।
एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २२ का एजी दिनेश पौडेलले वार्षिक कार्ययोजना अनुसार काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भूमिका अनुसार काम गर्न आग्रह गरे ।

निकै कठिन समयको अवस्थामा पनि महत्वपूर्ण सामाजिक कार्यहरु र सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए ।
बैठकमा क्लब एडमिनिस्ट्रेशन कमिटी चेयर मधुप्रकाश अर्यालको तर्फबाट प्रज्वल थान्जुले लक्ष्यअनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । क्लब मेम्बरसिप कमिटी चेअर झविन्द्रप्रसाद कंडेलले पनि आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।

त्यसै गरी सर्भिस प्रोजेक्ट कमिटी चेअर  ई. छविन्द्र भट्टराई, द रोटरी फाउन्डेसन कमिटी चेयर लेखनाथ भुसालको तर्फबाट डा. तारानाथ भट्टराई, पब्लिक इमेज कमिटी चेअर  शिवकुमार ज्ञवालीले पनि आ–आफ्नो कमिटीको कार्यप्रगति विवरण पेश गरेका थिए ।

क्लब एसेम्बलीमा बोल्दै एसिष्टेन्ट गभर्नर दिनेश पौडेलले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशीलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । 

प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठले सबैले आ–आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य सम्झेर सामाजिक काममा अझ बढी क्रियाशिल हुन आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । बैठकमा पूर्व अध्यक्षहरु डा. मनोहर जोशी, निर्मलप्रसाद लाकौल, हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु गोपाल अधिकारी, सुमन श्रेष्ठ लगायतले पनि बोलेका थिए । 

बैठकमा रोटरी क्लब अफ बुटवलको ३० वर्षको इतिहासमा पहिलोपल्ट अध्यक्षको जन्मदिन परेको थियो । अध्यक्ष बोनिन पियाको जन्मोत्सव बैठकमा पहिलोपटक मनाइएको क्लबले बताएको छ । त्यसै गरी बैठकमा रोटरीयनहरु बिनिराम अधिकारी, बुद्धिमाया थापा, चिरन्जीवी जोशी, इन्द्र भुसाल, लोकनाथ भुसाल, विश्वरुप श्रेष्ठ र सर्जुनारायण श्रेष्ठको विवाहउत्सवको अवसरमा खुशी साटासाट गरिएको थियो ।

त्यसै गरी बैठकमा रोटरीयन कृष्ण पराजुलीका बुबाको शनिबार दुःखद निधन भएको भन्दै श्रद्वाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।