शनिवार , पौष २, २०७९
भैरहवा, २ पुस ।
रुपन्देहीको भैरहवामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । शनिबार लुम्बिनी राष्ट्रिय महोत्सवस्थल अञ्चलपुरमा आयोजित फाइनल खेलमा विन्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टीमलाई पराजित गर्दै उपाधि जितेको हो । गाहा र श्रीसको टीमले उपविजेतामा चित्त बुझायो ।
फाइनलमा बस्नेत र पौडेलको टीमले २१–१९ र २१–१५ को सोझो सेटमा गाहा र श्रीसको टीमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै बिजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टीमले तृतीय स्थान हासिल गरी नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुणकुमार गोयन्का, महासचिव विजय पाण्डे, सचिव दीपेन्द्र प्रधान, खेलकुद संयोजक हरिबहादुर थापा, प्रचार–प्रसार संयोजक कृष्ण प्रसाद घिमिरे लगायतले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । यसले पछिल्लो समय लोकप्रिय मानिएको ब्याडमिन्टन खेलको प्रवर्द्धन हुने र खेल संस्कृतिको विकासमा टेवा पुग्ने आफूहरुको अपेक्षा रहेको खेल संयोजक थापाले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij