२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका बसन्त थापा प्रथम

बुधवार , मंसिर २८, २०७९

भैरहवा, २८ मंसिर ।
भैरहवामा सञ्चालित लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा आयोजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात पारेका छन् । बुधबार भएको फाइनल खेलमा भारतको पंजाबका कालिचिता पहलमानलाई पराजित गर्दै थापा पहिलो भएका हुन् । कालिचिताले दोस्रो स्थानमा चित्त बुझाए ।

पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पंजावकै अशोक पहलमान तेस्रो भए । विरगंजका बाबा पहलमानले प्रतिष्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुन सफल भएका हुन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए ।

मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो । कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । कुस्तीमा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए । कुस्ती हेर्न गाउँ गाउँबाट दर्शकहरुको महोत्सव स्थलमा घुइँचो लागेको थियो ।