सोमवार , मंसिर २६, २०७९
रुपन्देही, २६ मंसिर ।
विपद् कुनै पुर्व सूचना दिएर आउँदैन । अकस्मात आउने यस्तो खालको विपद्बाट कसरी जोगिने, उद्धार कसरी गर्ने र क्षति न्यूनीकरण के र कसरी गर्ने लगायतका विषयमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई तालिम प्रदान गरिएको छ ।
तालिमको सोमबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १ को सहयोगमा लुम्बिनी ग्रामीण विकास परिषद् नेपालको आयोजनामा ‘विपद् आउनुपूर्व तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ गरिएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष उदयराज गडेरीयाले तालिममा सिकेका सिपलाई व्यवहारतहः लागू गरेमा यसले ठुलो प्रभाव पार्ने बताए । विपद्को समयमा पूर्व जानकारी नभएको कारण मानिसले ज्यान गुमाउन बाध्य हुने भन्दै उनले यसको लागि सबैजना समयमा नै सचेत हुन आवश्यक रहेको बताए ।
तालिममा सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारी, सशस्त्र प्रहरी निरीक्षक कुल बहादुर खड्काले सहजीकरण गर्दै आगलागी, बाढी, डुबान, भुकम्प तथा अन्य दैविक प्रकोपको विषयमा कसरी बच्ने र अरुलाई बचाउने भन्ने विषयमा प्रकाश पारेका थिए ।
विपद् वा दैविक प्रकोपको समयमा आइपर्ने विभिन्न समस्याको समाधान, विपद् जोखिम न्युनीकरण के कसरी गर्न सकिन्छ, साथै गाउँ घरमा उपलब्ध स्रोत र साधनको उच्च प्रयोग गरी के कसरी क्षती न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मकसहितको तालिम प्रदान समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा सचिव हिरालाल भुसालले विपद्को समयमा समान्य खालको ज्ञान सीपले पनि मानिसको ज्यान जानबाट जोगिन सक्ने भन्दै यसमा सबैले ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य राम मिलन लोध, वडा सचिव हिरालाल भुसाल, वडा सदस्य महेन्द्र मल्लाह, कमला मुसहर, मुरलीधनर लोनिया, मनकुमारी थारु लगायतको सहभागीता रहेको थियो ।
लुम्बिनी ग्रामीण विकास परिषद् नेपालका अध्यक्ष चन्द्रकान्त खनालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले विपद् पूर्वतयारी योजना बनाएका जनतालाई सचेत बनाउनु राम्रो काम भएको बताए । सबै वडामा यस्ता कार्यक्रमले जनतालाई सचेत गराउने भन्दै सबैमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । वडा नम्बर १ का ७० जना स्थानीयहरु सहभागी अभिमुखीकरण दुई दिन चल्नेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij