सोमवार , मंसिर २६, २०७९
भैरहवा, २६ मंसिर ।
बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बेलहिया सडक निर्माणमा भएको ढिलाइप्रति रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले चासो देखाएका छन् । उनले सडक निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।
सोमबार बेलहिया पुगेका प्रदेशसभा सदस्य पाण्डेयले भने, ‘वर्षौदेखि निर्माण सुरु भइ हालसम्म पनि निर्माणसम्पन्न हुन नसकेको करिब ६ सय मिटर सडक निर्माणसम्पन्न गर्न मैले सडक डिभिजन कार्यालय, बुटवल र ठेकेदार कम्पनी विरुवा कन्सट्रक्सनको ध्यानाकर्षण गराएको छु । समयमै सडक निर्माण नहुँदा नागरिकको गुनासो आइरहेकोले यथाशिघ्र निर्माण कार्यलाई पूर्णता दिन आफूले भनेको उनले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले निर्माण कार्यसम्पन्न यथाशिघ्र नभए नागरिकमा असन्तुष्टी बढ्दै जाने भएकाले ध्यान दिन आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बेलहिया सडकखण्डको समयमै निर्माणसम्पन्न नहुँदा सर्वसाधारणका साथै पर्यटकहरुले सास्ती खेप्नुपरेको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij