
सोमवार , मंसिर २६, २०७९
बुटवल, २६ मंसिर ।
युगल आमा समुह बुटवल–११ कालिकानगरले वृद्धाश्रममा आश्रय लिइरहेका वृद्धवृद्धालाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ । समूहले बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजू वृद्धाश्रमका वृद्ध–वृद्धालाई ब्ल्याङ्केट र पछ्यौरा लगायत न्यानो कपडा र हर्लिक्स, बिस्कुट वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष सुनिल शाक्य र समूहका पदाधिकारीले त्यहाँ रहेका ९ जना बृद्ध–बृद्धा र कर्मचारीलाई उक्त सामान प्रदान गरेका हुन् ।
सो अवसरमा वडाअध्यक्ष शाक्यले आमा समूहको परोपकारी कामको सराहना गर्दै आगामी दिनमा सहकार्य गर्न सकिने बताए ।
समूहकी अध्यक्ष लक्ष्मी पराजुलीले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकम वनभोजमा गएर खानपिनमा खर्च गर्नुको साटो वृद्धाश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिकलाई जाडो मौसममा न्यानो दिलाउन कपडा र पौष्टिक आहार वितरण गरेको बताइन् ।
कार्यक्रममा समूहकी पूर्व अध्यक्ष विनिता ज्ञवाली र उपाध्यक्ष विजया पाण्डेले विशुद्ध मानवीय सेवा भावले समूहले आगामी दिनमा पनि यस्तै समाजिक काम गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij