सोमवार , मंसिर २६, २०७९
रुपन्देही, २६ मंसिर ।
गत शनिबार बाँकेको नेपालगञ्जमा आयोजित नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–इञ्जार्ज रुद्र सुवेदी, प्रेस चौतारी नेपाल बाँकेका नेता खम्बप्रसाद पुन लगायतका पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको जनाएको छ ।
‘पत्रकारको पहिचान हुँदाहुँदै पनि तस्विर खिच्ने क्रममा आयोजक क्रियटीभ ह्याण्ड्स संस्थाका परिचालित कर्मचारीले समाचार संकलनमा फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरेर धकेल्ने कार्यको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति निन्दा तथा भ्रत्सना गर्दर्छौं’, विज्ञप्तीमा भनिएको छ ।
स्वतन्त्रतापूर्वक संवैधानिक अधिकारसहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको ठहर छ ।
समितिका महासचिव निरु गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भिर चोट पुगेको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति पत्रकारमाथि गरिएको यो ज्यादतीको घोर भ्रत्सना गर्दै दोषीलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौं ।’
साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij