सोमवार , मंसिर २६, २०७९
भैरहवा, २६ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका, प्राविधिक शाखामा कार्यरत अमिन ईश्वरी भण्डारीलाई आइतबार (हिजो) करिब साढे ३ बजे आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा तिलोत्तमा–७ का खिमानन्द काफ्लेले हातपात गरी घाइते बनाएको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमितिले निन्दा एवं भ्रत्सना गरेको छ ।
सोमबार विज्ञप्ती जारी गर्दै युनियनले नियन कानूनको अधिनमा रही सार्वजनिक सेवा प्रवाहलाई आफ्नो प्रमुख जिम्मेवारी ठानी जनताको सेवामा अनवरत रुपमा खटिने राष्ट्रसेवक कर्मचारीमाथि हुने यस्ता प्रकारका घटनाले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल अत्यन्त कमजोर बनाउनुका साथै सेवाप्रवाहमा असर पर्ने बताएको छ । निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले राष्ट्रसेवक कर्मचारीहरुको कार्यस्थलमा उचित सुरक्षाको प्रत्याभूति गर्दै सहज रुपमा कार्यसम्पादन गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
युनियनका रुपन्देही जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यसरी राष्ट्रसेवक कर्मचारीमाथि हातपात गरी आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याइ कानूनबमोजिम हदैसम्मको कारवाही गर्न माग गर्दछौं । साथै अपराधमा संलग्न व्यक्तिलाई समयमै उचित कारवाही नभएमा यस्ता अमानवीय र अपराधिक घटनाहरु बढ्दै जाने र राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा निरन्तर लाग्न मनोबलमा गिरावट आउने देखिन्छ । ’
‘त्यस्तै राष्ट्रसेवक कर्मचारीहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गरी सेवा प्रवाहमा सहजतापूर्वक खटिने वातावरण निर्माण गर्न नेपाल सरकार सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ । युनियनले घटनाबाट घाइते भएका अमिन ईश्वरी भण्डारीप्रति सहानुभुति प्रकट गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस प्रकारका अमानवीय घटनाहरुबाट बिचलित नभई सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई धैर्यतापूर्वक आ–आफ्नो कार्यक्षेत्रमा सेवा प्रवाह गर्न युनियनले विज्ञप्तीमार्फत अपिल गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij