आइतवार , मंसिर २५, २०७९
बुटवल, २५ मंसिर ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचारको नियन्त्रण अब सबैको साझा एजेण्डा बन्नुपर्ने उनको भनाइ छ । उनले व्यक्ति हत्या भन्दा खतरनाक भ्रष्टाचारी हुने बताउँदै आजिवन कारागारको व्यवस्था हुनुपर्ने धारणा राखे ।
मानवअधिकार तथा शान्ति समाजको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ अर्पण कार्यक्रमलाइ आइतबार बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले मुलुक बनाउनेहरुले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘लोकतन्त्र, गणतन्त्र ल्याउन शान्ति समाज अग्रमोर्चामा उभिएको थियो, अब भ्रष्टाचार रोक्न फेरि पनि नागरिक समाजले खबरदारी गर्नुपर्ने छ, शान्ति बिना विकास र स्थायीत्व, स्थायीत्व बिना समृद्धिको कल्पना पनि गर्न सकिदैन । ’ उनले मानव अधिकारको परिभाषा र दायरा निकै फराकिलो भएको भन्दै जनताको अधिकार सुरक्षित गर्न सबै जुट्नुपर्ने बताए ।
सामाजिक सञ्जालमा जथाभावी कुराहरु राख्ने र विकृति आउन थालेका छन्, गल्ती भयो है यस्तो नराख भन्यो भने मानव अधिकार हनन् भयो भनेर हल्ला गर्छन, समाज कता जाँदैछ ? उनले प्रश्न गरे ।
सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा लोकतन्त्र/गणतन्त्र खतरामा रहेको बताए । परिवर्तित व्यवस्थामा अैजेरु पलाएको भन्दै ठूला दलहरुका नेताहरुले यस्ता गलत प्रवृत्तिकै संरक्षण गर्न गरेको उनले बताए । उनले भने, ‘युवा पुस्ताकोे चाहनाअनुसार दलहरु अघि बढ्नुपर्छ, अहिले सबैभन्दा बढि लोकतन्त्र खतरामा छ भने सत्तामा टासिंएका व्यक्तिवादी नेताहरुबाट नै छ । ’
अझै पनि नेपालका राजनीतिक दलहरु कर्मकाण्डी बनेको उनको भनाइ छ । समाज रुपान्तण हुन नसकेको बताउँदै समाजमा रहेको जातीय भेदभाव, हिंसा अन्त्य नहुँदासम्म लोकतन्त्र समुन्नत हुन नसक्ने उनले बताए । उनले शान्ति समाजले सम्मान गरेको व्यक्ति पिँधमा पारिएको समुदायबाट भएको उल्लेख गर्दै समाज रुपान्तरण हुन नसकेको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij