२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मानव अधिकार संस्कृतिको विकासमा जोड दिन आग्रह

शनिवार , मंसिर २४, २०७९

भैरहवा, २४ मंसिर ।
मानव अधिकार संस्कृतिको विकासका लागि सबै संवेदनशील भएर अघि बढ्नुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । शनिवार राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयको आयोजना र सिद्धार्थनगर नगरपालिका कार्यालयको समन्वयमा भैरहवामा आयोजित ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयन गर्न र संविधानले व्यवस्था गरेका अधिकारहरुको संरक्षण गर्नका लागि आफुहरु संवेदनशील भएर लाग्ने बताए । त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा महिलाहरुले आत्मसम्मानमा चोट पुगेका कारण जीवनको अधिकार खोसिएको भन्दै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य सक्रिय भई कानुनले व्यवस्था गरेका अधिकारको कार्यान्वयन नगर्दासम्म मानव अधिकारको प्रत्याभूति गर्न नसकिने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सोमनाथ सुवेदीले मानव अधिकार संस्कृतिको विकासका लागि अहिलेको हाम्रो शिक्षा प्रणाली र शासन प्रणालीका विषयमा समिक्षा गरेर अगाडी बढनुपर्ने बताए । उनले लोकतन्त्र बलियो भए मात्र मानव अधिकारको विकास हुने भएकोले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासनको अवलम्बन गर्दे नेपालकै पहिलो मानव अधिकार मैत्री पालिका निर्माणमा जुटन आग्रह गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले स्थानीय तहमा मानव अधिकारमैत्री नीति, योजना र बजेट बनाउन नसकिएको भन्दै आगामी दिनमा मानव अधिकारमैत्री योजना, बजेट र कार्यक्रमहरु संचालन गर्नका लागि प्रयास गर्ने बताए । 

उच्च अदालत बार एसोशियसन बुटवलका अध्यक्ष कैलाश ज्ञवालीले संविधानले व्यवस्था गरेको अधिकारहरुको संरक्षणगर्नका लागि नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा जोड दिनुपर्ने बताए ।

जिल्ला बारका अध्यक्ष, मानवअधिकार अधिकृत दीपक ठाकुर, अजित ठाकुर, मानवअधिकारकर्मी तथा पत्रकार रीमा बि.सी. लगायतले मानवअधिकार संस्कृतिको विकास गर्न सके मात्र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अर्थ रहने बताए ।