शनिवार , मंसिर २४, २०७९
भैरहवा, २४ मंसिर ।
आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा आज (शनिबार) बाट भ्वाइस अफ भैरहवा प्रतियोगिता सुरु हुँदैछ । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट भैरहवाको अंचलपुरमा सुरु भएको महोत्सवको मुख्य आकर्षणमध्येको भ्वाइस अफ भैरहवा सुरु हुन लागेको हो ।
आज दिनभर विविध सांस्कृतिक कार्यक्रम समाप्तीसँगै बेलुका ६ बजेबाट भ्वाइस अफ भैरहवा सांगीतिक प्रतियोगिता सुरु हुने संघका सचिव एवं सांस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले बताए ।
अघिल्लो हप्ता सम्पन्न अडिसनबाट ३२ जना प्रतिष्पर्धीमध्ये २१ जना अन्तिम चरणका लागि छनौट भएका छन् । आजदेखि उनीहरुबीच महोत्सवस्थलमा प्रतिष्पर्धा हुनेछ । प्रत्येक दिनको कार्यक्रमबाट प्रतियोगिता नियमअनुसार केही प्रतियोगी बाहिरिने छन् र अन्तिममा उत्कृष्ट पाँच बीच अन्तिम प्रतिष्पर्धा हुनेछ । त्यहीबाट चौथो भ्वाइस अफ भैरहवा छनौट हुनेछन् ।
भ्वाइस अफ भैरहवाको छनौटको एक आधार प्रवेश टिकटमा आफ्नो रोजाइको गायकको सिम्बोल लेखि भोटिङ गर्ने पनि हो । नयाँ प्रतिभाहरुको खोजी, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पुस ४ गतेसम्म संचालन हुन लागेको महोत्सवमा ‘भ्वाइस अफ भैरहवा’ को आयोजना गरिएको हो ।
प्रधान प्रतियोगिताबाट नयाँ प्रतिभा उजागर हुने मात्रै नभइ भविष्यमा राष्ट्रियस्तरमै प्रभाव राख्न सक्ने कलाकारहरु उत्पादन हुने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघले महोत्सवको अवसरमा आयोजना गर्न लागेको ‘भ्वाइस अफ भैरहवा’ चौथो सिजन हो । यसअघि आयोजित तीनवटा संस्करणमा क्रमश : स्वेच्छा ठकुरी, सुवास लुइटेल र भूपेन्द्र थापा मगर विजयी भएका थिए ।
‘यो प्लेटफर्मले भैरहवा र आसपासमा मात्रै नभई राष्ट्रिय रुपमै चर्चा पाएको छ, तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो, भ्वाइस अफ भैरहवाको तेस्रो सिजन विजेता भूपेन्द्र थापामगरले नेपालको चर्चित रियालिटी सो नेपाल आइडल नै जितिसकेका छन्’, प्रधानले भने, ‘यसपटक भ्वाइस अफ भैरहवा जित्नेले पनि भोलिका दिनमा राष्ट्रियस्तरका प्लेटफर्ममा सहभागी भएर विजयी हुनेछन् ।’
पहिलो सिजन विजेता ठकुरी राष्ट्रिय कलाकारका रुपमा स्थापित भइसकेकी छन् । उनले दर्जनौं गीत बजारमा ल्याइसकेकी छन् । ‘ठकुरीका धेरै गीत लोकप्रिय भएको हामीले पाएका छौं’, प्रधानले भने । भ्साइस अफ भैरहवाका लागि छनोट प्रक्रिया पनि सकिएको छ । शनिबार भैरहवामा सम्पन्न छनोटमा २१ जना स्थानीय प्रतिभाहरु छनोट भइसकेका छन् ।
संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भैरहवा र यस आसपासबाट राम्रा, आवाजका धनी र नयाँ कलाकारहरुको खोजी गर्नका लागि भ्वाइस अफ भैरहवा कार्यक्रम आयोजना गरिएको बताए । ‘यो कार्यक्रमले भोलिका दिनमा पनि नयाँ प्रतिभाहरुलाई गीत–संगीततर्फ आकर्षित गर्ने छ, जसले भैरहवाको पहिचानलाई थप उचाईमा पुर्याउने छ ।’
मेला प्रचार–प्रसार समिति उपसमिति संयोजक कृष्ण प्रसाद घिमिरेले भ्वाइस अफ भैरहवाले मेलास्थलमा दर्शकको आगमनलाई बढाउने बताए । ‘यो कार्यक्रम यस क्षेत्रमा विगतदेखि नै निकै लोकप्रिय छ, यसपटक दर्शक तान्न र मेलालाई गुल्जार बनाउन थप टेवा पुग्ने हाम्रो विश्वास छ’, उनले भने । उनले कार्यक्रमको उद्देश्य नै सुरिलो आवाजको खोजी रहेको जनाए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij