
शुक्रवार , मंसिर २३, २०७९
बुटवल, २३ मंसिर ।
रुपन्देही जिल्ला पावरलिफिटङ्ग संघले रुपन्देही जिल्लास्तरीय पावरलिफिटङ प्रतियोगिता, नवौं राष्ट्रिय प्रतियोगिता तथा दोस्रो स्व. रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा पदक विजेता रुपन्देहीका खेलाडीहरुलाई सम्मान गरेको छ । रुपन्देही खेलकुद विकास परिषद् कार्यालय परिसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, शारीरिक सुगठनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक एवं शारीरिक सुगठनका प्रशिक्षक केशव बहादुर शाक्यले सम्मानपत्र, कप र पिन्टोला नेपालको सौजन्यबाट प्राप्त पिनट बटरबाट सम्मान गरेका थिए ।
रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले शारीरिक सुगठनको विकासमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । पावरलिफिटङ संघ छोटो समयमा रुपन्देहीमा राष्ट्रियस्तरकै खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । रुपन्देहीबाट प्रतिनिधित्व गरि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन विधामा बिजेन्द्रमान श्रेष्ठ, विष्णु निशाद र सुनिल आलेले पदक जितेका थिए ।
त्यसै गरी रुपन्देही जिल्लास्तरीय पावरलिफिटङ प्रतियोगितामा ओभरअल क्याटोगरीमा महिलातर्फ मंजिता राजभण्डारी एवं पुरुषतर्फ बलराम डुम्रे प्रथम भएका थिए । त्यसै गरी दोस्रो स्व.रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा खेलाडीहरु धन कला कार्की दिपक श्रेष्ठ र चन्द्रमान श्रेष्ठले पदक जितेका थिए ।
कार्यक्रममा पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान गरेवापत पत्रकारद्वय नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बुटवल एफएमका भवानी प्रसाद पाण्डे र कान्तिपुर टेलिभिजन तथा बुटवल टुडेका स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले खेल र खेलाडीको विकासमा निजी क्षेत्रको योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डेले पावरलिफिटङ खेलाडीहरुको हौसला बढाउने गरी सम्मान कार्यक्रम भएको बताए । खेलाडीहरु एकताबद्ध भएर संस्थागत पहल गरे मात्र सरकारबाट आवश्यक सहयोग मिल्ने उनले बताए । खेलाडीहरुको भविष्यप्रति समेत सरकार गम्भिर हुनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले संस्थागत रुपमा खेलाडीहरु अगाडी ल्याउने काममा आफु लागेको बताए । वर्षभरी नै पूर्वाधार विकास, खेलकुद गतिविधिका साथै अन्य सामाजिक कार्यमा समेत संघको भुमिका रहने उनले बताए । संघका सचिव सरोजसिंह क्षेत्रीले शारीरिक सुगठनको एउटा पाटोको रुपमा पावरलिफटीङ खेल विकास भइरहेको भन्दै यसमा धेरै सम्भावना रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij