
बिहिवार , मंसिर १५, २०७९
भैरहवा, १५ मंसिर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा वरिष्ठ नेता दीपक बोहरा र क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा आशिष कुमार चौधरीलाई विजयी बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदातालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणाले बिहीवार विज्ञप्ति जारी गर्दै निर्वाचनमा रुपन्देहीमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग तालमेल गरेकोमा तालमेलका उमेदवारहरु क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा विष्णुप्रसाद पौडेल र क्षेत्र नम्बर ५ मा वासुदेव घिमिरेलाई तथा प्रदेश सभातर्फ क्षेत्र नम्बर २ (१) मा लिला गिरी, २ (२) मा भोजप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ३ (२) मा तुलसी प्रसाद चौधरी, क्षेत्र नम्बर ५ (१) मा भूमिश्वर ढकाललाई विजयी गराएकोमा पनि पार्टीले धन्यवाद दिएको छ ।
तीन पार्टीले गरेको तालमेललाई सबै नेता कार्यकर्ताले इमान्दारिताका साथ स्वीकार एवं पालना गरी तालमेलका उमेदवारलाई विजयी गराउन अहोरात्र खट्नुहुने राप्रपा, एमाले, जसपाका केन्द्रीय तथा जिल्लास्तरीय नेता, कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ता, उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका अगुवा, बुद्धिजीवी लगायत विभिन्न पेशा र व्यवसाय क्षेत्रमा संलग्न महानुभावहरु तथा निर्वाचनमा खटिएका राष्ट्रसेवक, सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक तथा मानवअधिकारकर्मीहरुलाई अध्यक्ष राणाले धन्यवाद दिएका छन् ।
‘तीनदलीय तालमेलका उम्मेदवारहरु र दलहरुप्रति आम मतदाताहरुले देखाउनु भएको विश्वास र भरोसा हाम्रा लागि सबैभन्दा ठूलो सम्पत्ति हो’–अध्यक्ष राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘विजयी भएका प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीयहरुलाई तपाईंहरुले देखाएको विश्वास र भरोसा टुट्न नदिने गरी देश र जनताको लागि काम गर्न गराउन पार्टीका तर्फबाट पहल भइ नै रहने छ ।’
सम्पूर्ण मतदाताको भावनाको कदर हुने गरी जिल्लामा विकास निर्माणलाई प्राथमिकता र जनताका समस्याहरुलाई समाधान गर्ने गरी निर्वाचित जनप्रतिनिधिहरुले काम गर्ने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिका लागि सबैको सहकार्य र एकताको खाँचो औल्याएका छन् । अध्यक्ष राणाले तीन तालमेलको सहयात्री दल जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा खडा भएका उम्मेदवारहरुलाई विजयी गराउन नसकिएकोमा पार्टीका तर्फबाट दुःख प्रकट समेत गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij