
बिहिवार , मंसिर १५, २०७९
भैरहवा, १५ मंसिर ।
जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले विगतमा धान रोप्ने र अहिले गहुँ छर्ने समयमा किसानका लागि मलखादको अभाव हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ । किसानका माग र मुद्दाप्रति जनमत पार्टी गम्भिर रहेको र विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु समेत गर्दै आएको पार्टीका रुपन्देही जिल्ला सचिव कृष्ण कोहारले बताए ।
बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका निमित्त प्रादेशिक प्रबन्धक गणेश प्रसाद घिमिरेलाई ज्ञापत्रपत्र बुझाउँदै किसानले महंगोमा सीमा पारीबाट डर त्राससहित मल ल्याउन बाध्य हुनुपरेको भनेको राज्य संयन्त्र असफल हुन पुगेको पार्टीले बताएको छ । जनमत पार्टी रुपन्देहीले रुपन्देही क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता चन्द्रकेश गुप्ता तथा पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको उपस्थितिमा ज्ञापनपत्र बुझाएको हो ।
विगतमा देखिएको मल अभावलाई ध्यानमा राखी हाल तोकिएको परिमाणमा थप ५० प्रतिशत थप गरी रुपन्देही जिल्लाका हरेक स्थानीय तहमा यथाशिघ्र पर्याप्त मल निकासी गर्नुपर्ने, मल निकासी गरिसकेपछि स्थानीय तहमार्फत किसानलाई मल पुगे/नपुगेको अनुगमन संयन्त्र बनाइनुपर्ने तथा तोकिएको दररेट भन्दा बढी मूल्यमा कुनै स्थानीय डिलरले मल विक्रीवितरण गरेको पाइएमा दर्ता खारेज गर्नुपर्ने जनमत पार्टीको माग छ ।
ज्ञापनपत्र बुझ्दै कृषि सामग्री कम्पनी भैरहवाका निमित्त प्रादेशिक प्रबन्धक घिमिरेले समस्या समाधानका लागि पहल गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij