बिहिवार , मंसिर १५, २०७९
भैरहवा, १५ मंसिर ।
होटल रेष्टरेण्ट स्तरीकरणसम्बन्धी अभिमुखीकरण तालिम बुधबार भैरहवामा सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको सह–आयोजनामा भएको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले खाद्य स्वच्छताका लागि होटल व्यवसायीहरु जिम्मेवार रहेको बताए । उनले व्यवसायीको सानो लापरवाहीले ठूलो समस्या आउन सक्ने भएकोले घटना हुनु भन्दा पहिले नै सजग रहनुपर्ने बताए । जसका लागि सरकारीस्तरवाट नियमित अनुगमन, तालिम र प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्ने उनको भनाइ थियो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी.ले स्वच्छ खाना उपभोक्ताको अधिकार भएकोले उपभोक्तालाई सो अधिकारबाट वञ्चित गर्न नहुने बताए । उनले यसका लागि सबै सम्बन्धित निकाय लाग्नुपर्ने बताए ।
चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार विश्वराज बराल (अनुप) मानवीय स्वास्थ्यलाई ख्याल गर्दै राज्य र व्यवसायीहरुबीच सहकार्य हुनुपर्ने बताए । उनले व्यवसाय सुरु गर्नुपूर्व नै व्यवसायीहरुलाई तालिम दिन सके व्यवसाय सुरु गरिसकेपछि आउने समस्याहरुमा कमी आउने विश्वास व्यक्त गरे ।
उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगर उपाध्यक्ष राधिका खरेलले खुल्ला खाद्य सामाग्री विक्रीमा सजगता अपनाउँदै उपभोक्ताको आर्थिक र स्वास्थ्य समस्या आउनबाट रोक्नुपर्ने बताइन् ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायलाई स्तरीकरण गर्न र खाद्य शुद्धतालाई थप मर्यादित बनाउन गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा खाद्य अधिकृतद्वय हेमन्त गौतम र प्रवेश पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालको अध्यक्षता, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको स्वागत, चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा उपभोक्ता हित संरण मञ्च रुपन्देहीकी अध्यक्ष समुन्द्र जी.सी., उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका उपाध्यक्ष राधिका खरेल, चेम्बर अफ कमर्स रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मी, सल्लाहकार विश्वराज बराल (अनुप) लगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका महासचिव राजेश महोत्राले गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij