
ग्लोबल ग्रान्ट अन्तर्गत झण्डै १० करोडका प्रोजेक्ट सञ्चालनमा
बुधवार , मंसिर १४, २०७९
बुटवल, १४ मंसिर ।
रोटरी क्लब अफ बुटवलले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै हालसम्म ग्लोबल ग्रान्ट अन्तर्गत १० करोडका परियोजना सञ्चालन गरेको छ । रोटरीले पैसा विदेश पठाउँछ भन्ने आरोप खेपिरहेका बेला रोटरी क्लव अफ बुटवलले भने ग्लोबल ग्रान्ट अन्तर्गत ठूला प्रोजेक्टहरु ल्याउन सफल भएको हो ।
रोटरीले अहिले पनि विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत गत वर्षदेखि सुरु गरिएका क्यान्सर स्क्रिनिङ सेन्टरसहितका परियोजना अहिले पनि अघि बढेका छन् ।
रोटरी क्लब अफ बुटवलको ३० औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जसअन्तर्गत रोटरी क्लब अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्त सञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना अघि बढेको क्लबका अध्यक्ष बोनिन पियाले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रुपमा रहेको क्लबले जनाएको छ । ‘यो करिब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ’–उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेष गरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।
त्यसै गरी ब्लड कलेक्शन मोबाईल भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिब ६५ लाखको लागतमा भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको र अब डेढ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष पियाले बताए । मोबाईल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्शन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्था समेत भएकोले निकै नै भरपर्दो हुनेछ ।
त्यसै गरी बुटवल उपमहानगरपालिकाभित्र रोटरीले ट्राफिक लाईट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिब ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानी गर्ने पियाले बताए । सडक निर्माणाधीन अवस्थामा रहेकाले सडक निर्माणको काम सकिएपछि यसलाई अगाडि बढाइनेछ ।
त्यस्तै रोटरी क्लब अफ बुटवलले जेष्ठ नागरिक मिलन केन्द्र शंकरनगरमा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानसँगको सहकार्यमा छोरी शिक्षा कार्यक्रम पनि सञ्ञ्चालन गर्दैछ । करिब २५ लाखको लागतमा आवासीय रुपमा छोरी शिक्षा कार्यक्रम सञ्ञ्चालन गरिने र त्यहाँ विपन्न परिवारका ३० जनालाई अध्ययनको व्यवस्था मिलाइने अध्यक्ष पियाले बताए । त्यस्तै क्लबले देवदह मेडिकल कलेजमा ब्लड बैंक, लुम्बिनी प्रादेशिक अस्पतालको फोहर व्यवस्थापन, आम्दा अस्पताल बुटवलमा बर्निङ युनिट सञ्ञ्चालन र शंकरनगर वनवाटिकामा तारा मण्डल स्थापनाको काम पनि अगाडि बढाएको छ ।
पत्रकार सम्मेलनमा रोटरी क्लब अफ बुटवलको बिहीबार हुने ३० औं चार्टड नाइटका बारेमा पनि जानकारी गराइएको थियो । पर्यटन व्यवसायी कर्ण शाक्यको प्रमुख आतिथ्यमा हुने चार्टड नाइटको तयारी पूरा भएको रोटरी क्लब अफ बुटवलले जानकारी गराएको छ ।
कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष पियाले चार्टड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको बताए । कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरुमध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिबिहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।
विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लब अफ बुटवलले विगतमा विद्यालयमा आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकूद लगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको क्लबका सचिव लालहरि पाण्डेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij