२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सामूहिक बेल विवाह सुरु

आइतवार , मंसिर ११, २०७९

बुटवल, ११ मंसिर ।
तिलोत्तमा मैजु खलको आयोजनामा बुटवलमा दुईदिने सामुहिक बेल विवाह (ईही) सुरु भएको छ । पुल्चोकस्थित दुर्गा भगवती मन्दिरमा आइतबारदेखि सामूहिक बेल विवाह शुरु भएको हो । आफ्नो परम्परा, रितितिथि र संस्कारबारे नयाँ पुस्तालाई ज्ञान दिने रुपमा समेत कार्यक्रम महत्वपूर्ण भएको तिलोत्तमा मैजु खलका अध्यक्ष मिनु श्रेष्ठले बताइन् । वर्षभरी नै मनाइने नेवारी चाडपर्वलाई संस्थागत रुपमा एकतबद्ध भइ मनाउँदै आएको उनले बताइन् । सामूहिक कार्य गर्दा आर्थिक मितव्ययी हुने उनले दावी गरिन् । सहभागीहरुबाट न्युनतम शुल्क लिएर सबै व्यवस्थापन संस्थाले गर्ने गर्दछ । 

काठमाडौं साखुका नेवारी पण्डित सुधनराज राजोपाध्यायले नेवारी विधिअनुसार अभिभावकसहित कन्याहरुको विशेष पूजापाठ र दैनिक जीवन उपयोगी ज्ञानहरु दिने छन् । ईहीमा रुपन्देहीसहित नेपालगंज, नारायणगढ, स्याङ्जा, वालिङ खैरेनीका ४६ कन्याहरु सहभागी रहेको संयोजक यमुना श्रेष्ठले बताइन् ।

मन्दिर परिसरबाट नेवारी पोशाक, बाजासहित निस्किएको प्रभातफेरीमा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा सदस्य अमृत खड्का, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले शुभारम्भ गरेका थिए ।