सुरक्षा व्यवस्था उचित प्रबन्ध गरिएको छ : प्रमुख जिल्ला अधिकारी
शनिवार , मंसिर ३, २०७९
अर्घाखाँची, ३ मंसिर । अर्घाखाँचीमा निर्वाचनको लागि २०२ मतदानस्थलमा कर्मचारी, निर्वाचन सामाग्री लिएर पुगेका छन् । भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मतदान केन्द्रमा अपांमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी निष्पक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले शान्त, स्वच्छ, निष्पक्षका लागि गरेको अभियानको लागि सन्धिखर्कमा गरेको निर्वाचन लक्षित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
‘निर्वाचन स्वच्छ हुन्छ, धांधली हुन्छ भन्ने कल्पना नगर्दा हुन्छ, जिल्लाका राजनीतिक दलसहित सबै सचेत छन्, मतदाताले निर्धक्क मत हान्न जान मतदान केन्द्रमा पुग्न आग्रह गरेका छन् ।’
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्मचारी, जनपथ र म्यादी गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । ‘निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पूरा गरेको छ, मतदानस्थलमा समस्या आएमा १५ मिनेटभित्र नेपाली सेना,सशस्त्र प्रहरी मतदानस्थलमा पुग्ने गरी तयारी पुर्ण छ, मतदाताले ढुक्क भएर बस्न आग्रह प्रजिअ घिमिरेले गरेका छन् । ’ त्यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिनेछन् ।
एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारीसाधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्नेछन् । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा पत्रकार नविन केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij