शुक्रवार, आश्विन ५ गते २०८०

भैरहवामा मंसिर २३ देखि लुम्बिनी राष्ट्रिय महोत्सव हुने

भैरहवामा मंसिर २३ देखि लुम्बिनी राष्ट्रिय महोत्सव हुने

images
images

खबर पात्रो

३, मंसिर २०७९
  • 977
    SHARES
  • भैरहवामा मंसिर २३ देखि लुम्बिनी राष्ट्रिय महोत्सव हुने

    भैरहवा, ३ मंसिर ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौको आयोजनामा यही मंसिर २३ देखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९) हुने भएको छ ।

    पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय सम्वृद्धिको आधार भन्ने नाराकासाथ भैरहवास्थित अञ्चलपुरमा हुने महोसवबारे संघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संघले आयोजना गर्न लागेको यो महोत्सव आठौं संस्करण हो । विगत २०६१ सालदेखि भैरहवामा मेला-महोत्सवको सुरुवात गर्दै अनुकुलता अनुसार २/२ वर्षमा लुम्बिनी पर्यटन महोत्सवहरु आयोजना हुँदै आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । 

    images
    images

    महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाइ सीमावर्ती बजारमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवद्र्धन गर्न विश्वास लिइएको न्यौपानेले बताए । उनले भने, ‘रुपन्देहीको पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्ने, यस क्षेत्रका विभिन्न जातजातिका कला–संस्कृतिको संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको वस्तु तथा उत्पादनहरुको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने रहेको छ ।’
    विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग सहभागीता रहने महोत्सवमा २५० वटा रहने उनले जानकारी दिए । अध्यक्ष न्यौपानेले भने, ‘लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चासोलाई अभिवृद्धि गर्ने खालको महोत्सवसँग सान्दर्भिक विभिन्न प्रस्तुति, स्थानीय पर्यटन विकास तथा स्थानीय सीप र साधनको प्रयोग हुने, घरेलु उत्पादनको प्रवद्र्धनको लागि विभिन्न सरोकारवालाहरुलाई एकै स्थलमा ल्याइ छलफल गोष्ठीको आयोजना गर्ने कार्यक्रम रहेको छ । ’

    संघका महासचिव विजय पाण्डेले महोत्सवमा यस क्षेत्रका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसँग जोड्ने र आकर्षण गर्ने कार्यक्रमहरु समेत आयोजना गरिने बताए । उनले भने, ‘महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्धि हुने तथा भारतीय सीमावर्ती शहरबाट पनि सहभागीता हुने भएकाले पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिहरु च्लायमान हुने विश्वास लिइएको छ । ’भगवान गौतमबुद्ध र लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाइ भ्रमणको समेत व्यवस्था गरिने पाण्डेले जानकारी दिए ।

    महासचिव पाण्डेले भने, ‘उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस क्षेत्रमा उत्पादित माछा तथा कुटीर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिनेछ, यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायीकरणमा पनि उल्लेख्य भूमिका रहने विश्वास लिएका छौं ।’

    करिब २ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । मेलाबाट रु. १० करोड बराबरको कारोबार हुने अनुमान गरिने आचार्यले बताए । महोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्यसम्पादन समिति, संयोजक समिति गठन गरी तयारी भइरहेको संघका बाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । 

    महोत्सवमा स्टल लिइ आफ्नो बस्तु तथा सेवाको प्रवद्र्धन गर्न चाहने सम्पूर्ण उद्योग तथा व्यापार प्रतिष्ठान, घरेलु तथा महिला उद्यमी, संघ–संस्था तथा सबै सरोकारवालाहरुमा आ–आफनो व्यक्तिगत तथा संस्थागत पहलबाट प्रचारप्रसार र सहयोग गर्न संघले आग्रह गरेको छ ।

    उद्योगी व्यवसायीहरुको पेशागत हकहितका लागि उद्योग, व्यापारको विकासका विस्तारका लागि वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघले यसअघि २०६३, २०६५, २०६७, २०६९, २०७१ र २०७५ मा सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको कोषाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    महोत्सवको सह–आयोजक सिद्धार्थनगर नगरपालिका रुपन्देही लुम्बिनी विकास कोष, लुम्बिनी, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ र पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेका छन् ।

     

    images
    प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ११:२८:०७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij