बिहिवार , मंसिर १, २०७९
रुपन्देही, १ मंसिर ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रसारप्रसारको अन्तिम दिन नेकपा एमाले, जसपा र राप्रपाले रुपन्देही क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नम्बर ५ भैसाही दुर्गा मन्दिर टोलमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी १ सय १५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई पार्टी प्रवेश गराउँदै एमाले रुपन्देही इञ्चार्ज तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकालले क्षेत्र नम्बर ५ मा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी प्रवेश गर्नेहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले पहिलो नगरप्रमुख भएर तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको अनुभवलाई क्षेत्र नम्बर ५ को समग्र विकासमा लगाउने बताए ।
विकासको ठूलो सम्भावना बोकेको क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै सुन्दर, सफा, विकासमा नमूना क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना रहेको बताउँदै उनले यहाँका अव्यवस्थित बसोबासी, भूमिहीन दलित, सुकुम्बासीलाई भूमिको मालिक बनाउनेदेखि किसानले कयौं वर्षदेखि भोग्दै आएको सिंचाई, मलखाद, कृषि उपजको बजारीकरणसम्बन्धी समस्या समाधान गर्ने बताए ।
लुम्बिनीलाई केन्द्र भागमा राखी यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्दै तालतलैया, नदीनाला, मठ मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, मदरासाको विकासमा ध्यान दिने उम्मेदवार घिमिरेको भनाइ छ । यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल, प्राविधिक शिक्षालय, क्याम्पस निर्माण, सडकहरुको स्तरोन्नति, बेरोजगारी समस्या समाधान, महिला तथा युवाहरुको सशक्तिकरण, कक्रहवा नाकाको स्तरोन्नती, ज्येष्ठ नागरिकको सम्मान गरिने बताए ।
यस्तै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गोकर्ण बहादुर क्षेत्रीले रुपन्देही क्षेत्र नम्बर ५ को विकास र समृद्धिको लागि एमालेको जीत अपरिहार्य रहेको बताए । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सल्लाहकार कृष्ण अधिकारी, जिल्ला कमिटी सदस्य भरतमणि सापकोटा, हेमा बेल्बासे, एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष दिनानाथ आचार्यले क्षेत्र नम्बर ५ मा पटकपटक जितेका सांसदले जनअपेक्षाअनुसार काम नगरेकाले एमाले उम्मेदवारलाई मत दिन आग्रह गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij