२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भैरहवालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउँछु : गृहमन्त्री खाँण

बिहिवार , मंसिर १, २०७९

भैरहवा, १ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिन ३० वर्षदेखि काम गर्दै आएको बताए । ‘पछिल्ला पाँच वर्ष भैरहवा र आसपासको क्षेत्रको विकासमै मैले अधिकांश समय बिताए,’ गृहमन्त्री खाँणले भने, ‘पार्टी र सरकारी जिम्मेवारीका कारण भैरहवामै बस्न नपाएपछि सातामा दुई–तीन पटक आएर यहाँका गतिविधिमा सहभागी भइरहेको छु ।’

भैरहवा र आसपास अहिले सञ्चालनमा रहेका आयोजनालाई पूर्णता प्रदान गरेर आधुनिक र सुरक्षित सहर बनाउन आफ्नो कार्यकालका अधिकांश समय बिताउने खाँणले प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री खाँणले नागरिकको अवस्था बदल्न पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा मुलुकमै विकास निर्माणको केन्द्र रुपन्देही बन्ने बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक केन्द्रका रुपमा बिकास गरिनेछ,’उनले भने, ‘छिट्टै कार्गो उडान थपिनेछन, जसले रुपन्देहीका उत्पादन विश्वभर पुग्नेछन ।’ निर्वाचन सकिए लगत्तै सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डमा निर्माण गरिने सुरुङ मार्गको शिलान्यास गरिएको उनले बताए । ‘निर्वाचन आचारसंहिताका कारण शिलान्यासमा ढिलाइ भएको हो,’उनले भने, ‘निर्वाचन लगत्तैं शिलान्यास गरिन्छ ।’ 

यसबाहेक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा समेत सुरुङ मार्ग निर्माण गरिने भए । ‘चितवनको शक्तिखोरबाट पृथ्वी रामार्ग जोड्ने गरेर सुरुङ मार्ग निर्माण हुँदैछ,’उनले भने, ‘यी सुरुङ मार्गले रुपन्देहीको चीन सितको दूरी घटाउनेछ ।’