images

शुक्रवार, बैशाख ७ गते २०८१

रैथाने नेता दीपक बोहराको जीत सुनिश्चित छ

रैथाने नेता दीपक बोहराको जीत सुनिश्चित छ

images
images
images
बुधवार, कार्तिक ३० २०७९
बुधवार, कार्तिक ३० २०७९
  • रैथाने नेता दीपक बोहराको जीत सुनिश्चित छ

    मुलुक निर्वाचन मय भएको छ । रुपन्देही क्षेत्र नम्बर ३ लाई यतिबेला देश–विदेशमा रहेका नागरिकले नियालिरहेको छन् । नेपालको राजनीतिक वृतमा यो क्षेत्रको निर्वाचनलाई लिएर चर्चा चुलिएको पनि छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा कसले चुनाव जित्ला भनी धेरैले अनेक अड्कलबाजी गरिरहेका छन् । स्थानीय क्षेत्रसँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाकै स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाको तीनदलबाट साझा उम्मेदवार राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र मणिग्राम घर भएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । त्यसै सन्दर्भमा रहेर हामीले तीनदलीय तालमेलका उम्मेदवार पाँचदलीय गठबन्धन भन्दा कसरी बलियो छ? निर्वाचन जित्ने आधार के छन् भनेर एमाले, राप्रपा, जसपाको तालमेलको संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही क्षेत्र नम्बर ३ संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्य स्वाती थापासँग गरिएको कुराकानिको सम्पादित अंश :

    images
    images
    images

    निर्वाचनको कमाण्ड के–कसरी सम्हालिरहनुभएको छ ?

    हामी निर्वाचनको नजिकै छौ । हामी अत्यन्तै व्यवस्थित रुपमा यो निर्वाचनलाई उपयोग गर्नेगरी काम गरिरहेका छौं । एमाले, राप्रपा र जसपाको तीनै दलको तर्फबाट यो जिल्लामा रहेका केन्द्र, प्रदेश, जिल्ला, पालिका मात्रै होइन वडा तहमा समेत बनाइएका संयन्त्र र जनवर्गीय संगठनको तहमा पनि बनाइएका संयन्त्रले अत्यन्तै सक्रियतापूर्वक काम गरिरहेको छ । हामी संगठनात्मक संरचना बनाएर निर्वाचन जित्ने नै गरी काम गरिरहेका छौं । यसरी व्यवस्थित ढंगले काम गर्दा क्षेत्रको कमाण्ड सम्हाल्दा म अत्यन्तै जिम्मेवारबोध महसुस गरिहरेको छु । आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा दीपक बोहरा, प्रदेश सभा (१)मा महेन्द्र यादव र प्रदेश सभा (२)मा तुलसी प्रसाद चौधरीको जीतको सुनिश्चितताकोलागि हामी सबैको सक्रियताले सफलता पाउने विश्वास गरेकी छु ।

    गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका वरिष्ठ नेता दीपक बोहराले पराजित गर्न सक्नुहोला ?

    हेर्नुहोस्, निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन । सबै जनताको हातमा छ । विगतमा बहालवाला गृहमन्त्री मात्रै होइन बहालवाला प्रधानमन्त्रीलाई समेत नेपाली जनताले हराएका थिए । अहिलेका जनताले बुझिसकेका छन् की कसले काम गर्छ भनेर । बालकृष्ण खाँण जी पटकपटक मन्त्री हुनुभयो, यतिबेला राज्यको शक्तिसाली मन्त्री हुनुहुन्छ । म तपाईको मिडिया मार्फत सोध्न चाहन्छु की उहाँले भैरहवा, सेमलार, अमुवा, फर्साटिकरको लागि के गर्नुभयो अहिलेसम्म ? गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भइसकेको छ, भारतसँग रुट स्वीकृतिको लागि उहाँले सांसद् र मन्त्रीपरिषद्मा कति पहल गर्नुभयो, सीमावारीका व्यापारी पसल नचलेर ग्राहकको पर्खाइमा छन्, भाडा तिर्न सकेका छैनन तर चोरी तस्करी बढिरहेको छ । चोरी तस्करी रोकेर सीमावारीका व्यापारीलाई सहयोग गर्न गृहमन्त्री खाँणलाई कसलाई रोकेको छ ? उद्योगी–व्यवसायी सडक आन्दोलनमा छन् ती व्यवसायीको राहतको लागि बैंक ब्याजदर घटाउन उहाँले मन्त्रीपरिषद्मा वा गभर्नरसँग कतिपटक छलफल गर्नुभयो ? अहिले नै उहाँले धेरै काम गर्नुहुन्थ्यो तर अहिले केही नगर्ने अनि निर्वाचन जिताउनुस् म यसो गर्छु, उसो गर्छु भनेर गाउँगाउँमा आश्वासन मात्रै बाड्दै हिड्ने गृहमन्त्रीलाई सबैले चिनिसकेका छन् । रहयो हाम्रो उम्मेदवारको कुरा । दीपक बोहरा पाँच दशकदेखि रुपन्देहीकै राजनीतिमा सक्रिय हुनुहुन्छ, उहाँले नचिनेको घर, उहाँलाई नचिन्ने मान्छे सायदै होलान । यसैले रैथाने नेताको रुपमा परिचित बोहराको जीत सुनिश्चित नै छ ।

    रैथाने नेता भनेर के भन्न खोज्नुभएको ?

    मैले भन्न खोजेको दीपक बोहरा र भैरहवा एक–अर्काका पर्यावाची हुन् । देश विदेशमा भैरहवाको चर्चा गर्दा दीपक बोहराको नाम कसैले छुटाउन सक्दैन त्यसको मुख्य काम उहाँले ३० को दशकदेखि गरेका धेरै विकासे काम नै हुन् । यहाँको बाटोघाटो, बिजुली, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, धार्मिक तथा सामाजिक संघ–संस्थाको प्रबद्र्धन र संरक्षणमा उहाँले नगरेको कुनै काम छैन । खासमा भन्दा बोहराजी भैरहवाको माटो, भैरहवाको हावा पानी, यहाँको हरेक मानिसको मन मुटुमा बस्न सफल नेता हो । रहयो कुरा खाँण जी को उहाँको मतदाता नामावली समेत रुपन्देही क्षेत्र नम्बर ३ मा छैन । सुन्दै छु, चुनाव भरीकोलागि भैरहवाको प्रभात पथमा डेरा लिनु भएको छ रे । अब तपाई भन्नुस, के भैरहवाका मतदाताले आफ्नै घरको छोरा, भाइ, भतिज, दाई, काका जस्तो बोहराजीलाई मतदान नगरेर टुरिस्ट उम्मेदवारलाई मतदान गर्लान त ? म त विश्वस्त छु, भैरहवा बासीले डेरावालालाई विदाई गर्नेछन्  ।

    बोहराले रुपन्देहीकोलागि के काम गर्नुभएको छ ?

    विक्रम सम्वत् २०३० साल यता रुपन्देहीमा जे जति काम भए तीनको इतिहासको तथ्यांक विश्लेषण गर्नुहोस् । हरेक योजनामा दीपक बोहराजीको पहलकद्मी छ । स्थलमार्ग र हवाई मार्गको विस्तारमा उहाँले गरेको काम उत्तिकै महत्वपूर्ण छ । अहिले सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक, बेथरी–तामनगर निर्माणाधीन सडक, भैरहवा–परासी सडक, भैरहवा लुम्बिनी तिलौराकोट सडक जस्ता गौरबका आयोजना मात्रै हेरे पुग्छ । तथा २०४२ साल ताका भैलुभुज आयोजना रुपन्देहीमा ल्याएर समग्र जिल्लाको खेतहरुलाई सींचित गर्ने काम, गाउँगाउँमा विद्यूतीकरण, गाउँगाउँमा सडक संजाल विस्तार, शंकरनगर खानेपानी, धकधई खानेपानी परियोजना मार्फत शुद्ध खानेपानीको विस्तार मात्रै होइन बुटवलको दीपनगरमा सुकुम्बासीहरुलाई बस्ती बसाल्ने काम, वातावरण र हरियालीको क्षेत्रमा गरेका धेरै काम, शिक्षा र स्वास्थ्यमा मात्रै नभइ समग्र मानव विकासको क्षेत्रमा उहाँले गरेका हजारौं काम छन जुन यहाँ उल्लेख गरेर सम्भव छैन । तपाई एकपटक बुटवल दीपनगरका मानिसहरुलाई सोध्नुस् वा भैरहवा, अमुवाका मानिसहरुलाई की दीपक बोहराले के गरे रुपन्देहीको लागि भनेर अनि तपाई प्रष्ट हुनुहुनेछ ।

    राष्ट्रिय रुपमा उहाँको विशेष योगदान के छ ?

    उहाँ पहिलोपटक सहायक पर्यटन मन्त्री हुँदा तत्कालिन समयमा शान्तिनगरमा रहेको विमानस्थललाई हालको स्थानबाट सञ्चालन गर्ने र  गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रियकरणकोलागि पहल गर्नुभयो । पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भैरहवामै सञ्चालन गर्ने र मुआब्जा दिलाउने काममा ठूलो योगदान रहेको छ । त्यसैगरी बृहत्तर लुम्बिनी क्षेत्रको विकासकोलागि विशेष योजना र लुम्बिनी गुरुयोजनालाई अगाडी बढाउन पनि उहाँको पहल रहेको छ । त्यसैगरी उहाँ वन तथा भुसंरक्षण मन्त्री हुदाँ विश्व माझ परिचित गराउने गरी सबैभन्दा उचाई भएको सगरमाथाको बेस क्याम्प कालापथ्थरमा मन्त्रीपरिषद ्बैठक बसालेर जलवायु परिवर्तन सम्बन्धमा विश्वको ध्यानआकर्षण गर्न सफल भएको थियो । उक्त मन्त्रीपरिषद् बैठकबाट बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार, गौरीशंकर हिमाल संरक्षण क्षेत्रको घोषणा, अपिनप्पा हिमाल संरक्षण क्षेत्रका रुपमा महत्वपूर्ण काम भएको थियो । यसैगरी जैविक विविधता र वन्यजन्तु संरक्षणको लागि विशेष पहल भएको छ भने उहाँकै अग्रसरतामा डब्लींग द टाईगर मिशन शुरु गरी बाघ संरक्षण गर्ने काम सफल भएको छ । सन् २००९ मा १२१ वटा बाघ रहेकोमा यतिबेला ३५५ बाघ रहेको तथ्यांक रहनु पनि डब्लींग द टाईगर मिसनको सफलता हो । त्यसैले संरक्षण क्षेत्रमा कार्यरत माझ उहाँ टाईगर मिनीस्टर पनि भन्ने परिचय छ ।  त्यसैगरी २०७४ मा स्वास्थय मन्त्री हुँदा जनपक्षीय धेरै निर्णय भएको छन् जस्तो दीर्घरोगी मृगौला, क्यान्सर, मुटु तथा मेरुदण्डको समस्याबाट ग्रस्त दीर्घरोगीकोलागि मासिक ५ हजारको दरले सरकारले सहयोग गर्ने लागू गरेको थियो । उक्त नीति अहिले पनि विद्यमान रहेको छ । कोभिडको समयमा उहाँको अग्रसरतामा नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

    बोहरालाई रुपन्देही–३ का मतदाताले किन मतदान गर्ने ?

    म फेरि पनि भन्छु, ५० वर्षदेखिको राजनीतिक निरन्तरता, स्थानीय विकास निर्माण र राष्ट्रिय एवं अन्तराष्ट्रिय राजनीतिमा पहुँच र प्रभाव राख्न सक्ने क्षमता भएको सबै पार्टीका शीर्ष नेताहरुसँगको राम्रो सम्बन्ध भएको कारणले दीपक बोहराले विगतमा धेरै राष्ट्रिय गौरवको आयोजनाहरु, एडीबीको कार्यक्रमहरु रुपन्देही क्षेत्र नम्बर ३ मा ल्याउन सफल हुनुभएको हो । निर्वाचन जितेर मात्रै होइन त्यसकोलागि सबै ठाउँमा पहुँच र विश्वास विस्तार भएको हुनुपर्छ । हाम्रो तीनदलीय साझा उम्मेदवार दीपक बोहरा, महेन्द्र यादव र तुल्सी प्रसाद चौधरी जाती, भुगोल र स्थानीयताको हिसाबले पनि विविधतामा एकता भएको नेताहरु हुन् । राप्रपाको वरिष्ठ नेता बोहरा, जसपाको केन्द्रिय सदस्य यादव र एमालेको केन्द्रिय अनुशासन आयोगका सदस्य चौधरीको पक्षमा यतिबेला रुपन्देही क्षेत्र नम्बर ३ मा माहोल तयार भइसकेको छ । विगतका धेरै योजनाहरु जस्तो की डण्डा करिडोरको काम अगाडि बढाउनुपर्नेछ, भैरहवा मण्डपकोलागि जग्गा व्यवस्थापन गर्दै मण्डप निर्माण गर्नुपर्नेछ, क्षेत्रको मुख्य बजारहरुमा पार्किङ समस्या भइरहेको छ त्यसकोलागि योजनाबद्ध काम गर्नुपर्नेछ । व्यवस्थित खेलमैदान, खेल खेलाडीको संरक्षण, फोहोर मैला व्यवस्थापन, सामाजिक तथा साहित्यिक संघ–संस्थाको विकास, सञ्चार गृहहरुको संरक्षण तथासीमानाका बेलहियादेखि पुर्व पश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासकोलागि अल्पकालिन र दीर्घकालिन योजनासहितको गुरुयोजना बनाएर भौतिक र सामाजिक विकासको काम गर्नको लागि पनि मतदाताले यसपटक प्रतिनिधिसभा सदस्यमा हलोमा, प्रदेश १ मा छाता र प्रदेश २ मा सुर्यमा मतादान गर्नुपर्छ ।

    जीतको मुख्य आधार के हो?

    जीतको मुख्य आधार हाम्रो संयुक्त प्रतिवद्धता हो । हामी हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिंगो देशका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकौदेखि योजना, नीति र छलफल चलाएर अगाडी बढेका राष्ट्रवादी शक्तिहरुको तालमेल र जनविश्वास नै हाम्रो जीतको आधार हो । अर्कोतर्फ गणितीय हिसाब गर्दा पनि हामी जितिसकेका छौं । हाम्रो तीनदलीय सहकार्य र तालमेल अत्यन्तै राम्रो तथा व्यवस्थित छ  । यी तीनै पार्टी यो क्षेत्रमा त्यसै अलगअलग हुँदा पनि बलिया छन् । एकै ठाउँ भएपछि त्यसको परिणाम झन सशक्त भएको छ । यसैले हामी दोब्बर मतले जित्दैछौं । २०७० मा रुपन्देही–३ मा राप्रपाले जितेको, २०७४ मा एमालेले जितेको इतिहास छ । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका पालिकामा यी तीन पार्टीले पाएको प्राप्त मत विश्लेषण गर्दा पनि हामी १२ हजार ७ सय बढी मतले अगाडी छौं ।अर्कोतर्फ हाम्रो उम्मेदवारहरु अन्य विपक्षी गठबन्धनका उम्मेदवार भन्दा धेरै प्रकारले असल, इमान्दार, जनजनमा भिजेको हुनुहुन्छ । जनताको हरेक सुखदुखको साथी, पदमा रहदा नरहदा बोहोराजीले दिनुभएको योगदान अतुलनीय छ त्यसलाई जनताले भुल्ने छैनन् ।

    दीपक बोहराको स्वास्थ्यमा समस्या भन्ने कुरा छ । यसबारे जानकारी गराइदिनुस् न ।

    हाम्रो उम्मेदवारको स्वास्थ्यको विषयलाई लिएर केही भ्रामक प्रचार समेत भएका छन् । हामी यति विश्वस्त पार्न चाहन्छु की उहाँको यो समस्या अल्पकालीन हो । योे विषयमा गरिएको अराजनैतिक टिप्पणीको विषयमा कुनै प्रतिक्रिया दिनुछैन । तथापी तपाईले सोधिहालेपछि म केही सत्य कुरा यहि मिडियामार्फत प्रष्टाउन चाहन्छु की, बोहराजीको पोस्ट कोभिडको कारण उहाँको घाँटीमा भएको समस्या छिटो निको होस् भनेर चिकित्सकले केही हप्ता भ्वाईस रेस्ट गर्न दिएको सल्लाहलाई आत्मसाथ गर्दै उहाँ यतिबेला कम बोलिरहनुभएको र स्पीच थेरापी गरिरहनुभएको छ । रुपन्देही क्षेत्र नम्बर ३ का मतदाता, शुभचिन्तक तथा उहाँको बारेमा चासो राख्ने सबै यो विषयमा जानकार हुनुहुन्छ । विपक्षीले विकासका मुद्दा, राजनैतिक मुद्दासँग प्रतिसपर्धा गर्न नसकेर यतिबेला यो विषयलाई बढी उठाएका होलान् तर जनताले बुझेका छन् । यतिबेला चुनाव जित्नकै लागि विपक्षीहरुले अन्तिम अस्त्रको रुपमो सामान्य घाँटीको समस्यालाई लिएर यति धेरै गलत प्रचार गर्नु कत्तिको राम्रो मानिन्छ ? चुनावमा सिद्धान्त, विचार र विकासका मुद्दा उठाउनु ठीक हो तर मानवीय संवेदनालाई समेत वेवास्ता गर्दै भ्रामक प्रचार गरिनु गलत हो ।  बोहराजी बिहान ६ बजेदेखि राति ११ बजे सम्म घरदैलो, कोणसभामा सहभागी भइरहनु भएको छ । रुपन्देहीका रेडियो, टिभि, अनलाईन र पत्रिकाले यी समाचारहरु दैनिक रुपमा कभरेज पनि गरेका छन् । उहाँले नै तीनदलीय नेताहरुलाई क्षेत्रभरी आफै परिचालन गर्ने, दैनिक योजना बनाउने, हरेक दिन संयन्त्रको बैठक राख्ने, दिनमा दर्जनौ कार्यक्रममा सहभागी हुने, जनतासँग नै उठबस गरिरहने मानिस कसरी अस्वस्थ हुन सक्छ ?

    तीनदलीय तालमेलले रुपन्देहीमा आचारसंहिता कतिको पालना गर्नुभएको छ ?

    हाम्रोतर्फबाट आचारसंहिता पालनामा कुनै कमी छैन । तर यो प्रश्न यहाँले गृहमन्त्रीलाई सोधेमा अझै प्रष्ट हुने थियो । मलाई त भन्न अफ्ठयारो लागिरहेको छ की कानूनको कार्यान्वयन गराउने मुख्य व्यक्ति गृहमन्त्रीले नै आचारसंहिताको उल्लघंन गरिरहेका छन् । सिधा कुरा भन्दा गृहमन्त्रीले रुपन्देहीमा यतिबेला  सत्ता र शक्तिको दुरुपयोग गरिरहनुभएको छ । आचारसंहिताको उल्लंघन भइरहेको छ । उहाँले राजनैतिक नियुक्ति र राजदुतको पद बांडद्र हिडिरहनु भएको भन्ने सुन्नमा आएको छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाधलिरहित होस् भन्ने हाम्रो मान्यता छ । तत्काल प्रहरी प्रशासनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाधलिरहित होस् भन्ने तरिकाले अगाडी बढ्नुपर्छ । केही महिनाअघि भैरहवामा समाजसेवा पदकको नाममा तक्मा बाड्ने काम भएको छ । चकलेटमा चुनाव चिन्ह राखेर बाँडिएको छ । यसरी आचारसंहिता उल्लघंन गर्दा पनि प्रशासन मौन बस्नु हुँदैन । हामी यसै मिडियामार्फत निर्वाचन आयोग र प्रहरी प्रशासनलाई सचेत समेत गराउन चाहन्छु । निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij