मंगलवार , कार्तिक २९, २०७९
भैरहवा, २९ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने दोगहरी गाउँ नगरमा पर्ने भए पनि शहरमा गणना गर्न सकिँदैन । गाउँ नै हो, यहाँका बासिन्दाको जीवनशैली पनि ग्रामीण स्तरकै छ । यहाँ रहेका सयौं घरपरिवारमध्येका एक परिवार हो, रहम तुल्लाह अन्सारीको परिवार ।
४५ वर्षीया अन्सारी पनि अन्य छिमेकी सरह कृषि पेसामैं आबद्ध छन् । समयमैं बीउ–मल नपाउने, सिंचाईको समस्या त छँदैछ, कृषि उब्जनीबाट परिवारको गुजारा मात्र होइन, छोराछोरीको पढाइलेखाइ लगायतका कामका लागि पनि धानिनुपर्ने बाध्यता छ । उनले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने उमेर पुगेपछि हरेक निर्वाचनमा मतदान गर्दै आइरहेका छन् । धेरैलाई सांसद र स्थानीय तहको जनप्रतिनिधि चुनिन उनको मतको उपयोग भयो । निर्वाचित भएकामध्ये कतिपय त मन्त्री समेत बने ।
यसपटक मतदान के मा गर्ने मनसायमा हुनुहुन्छ त ? सोमबार दिउँसो उनको घरमा पुगेर प्रश्न गर्दा उनले भने, ‘गृहमन्त्री बालकृष्ण खाँणलाई रुखमा मतदान गरेर विजयी बनाउने हो ।’ कतिपय मतदाता यस खालको प्रश्नको उत्तर सहजै दिँदैनन् वा यसको उत्तर पाउनका लागि धेरै समय घुलमेल हुनुपर्ने हुन्छ । तर, उनले भने, यसपटक पाँचदलीय गठबन्धनलाई मतदान गर्ने हो । ’
गृहमन्त्री बालकृष्ण खाँणलाईं मतदान गर्न खोज्नुको कारणमा उनले खाँण विकासप्रेमी र सबैलाई समान व्यवहार गर्ने नेताको रुपमा आफूहरुले पाएको सुनाए । ‘अहिले पनि हेर्नुस् (आचारसंहिता लाग्नुअघि), खाँणले हिन्दु धर्मावलम्बीको मन्दिर संरक्षणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनु भयो भने हामी मुस्लिम समुदायको मस्जिदको संरक्षणका लागि पनि १० लाख रुपैयाँ नै बजेट उपलब्ध गराइदिनु भयो । ’, उनले भने, ‘वास्तवमा भन्ने हो भने यस निर्वाचन क्षेत्रबाट उहाँजस्तो विकासप्रेमी, उम्मेदवार पाउनु यस क्षेत्रको अवसर हो । ’
सिद्धार्थनगर-१०, शंकरपुरका अर्का स्थानीय मुस्ताक अहमद भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिँदा चलनचल्तीको भाउमा भन्दा धेरै राम्रो मुआब्जा स्थानीयले पाउनुमा खाँणको पहल भएको बताए । विमानस्थलमा अब आवश्यक पर्ने रोजगारीका लागि जग्गा अधिग्रहणमा परेर बिस्थापित भएका परिवारलाई नै प्राथमिकता दिनका लागि पनि खाँणले पहल गर्ने दावी उनको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij