२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्यसम्पादन करार सम्झौता 

सोमवार , कार्तिक २८, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २८ कात्तिक । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा प्रमुख कर्मचारीहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ । नगरपालिकाको हलमा नगरप्रमुख सजरुद्दीन मुसलमानको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो ।

    कार्यसम्पादन सम्झौतामा कुन शाखाको कुन कर्मचारीको भूमिका र दायित्व के हुने, वार्षिक कार्ययोजना निर्माण गरी कुन काम कहिले गर्ने तथा सम्बन्धित कर्मचारीको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ । 

    कार्यसम्पादन सम्झौता सार्वजनिक प्रशासन र व्यवस्थापनलाई नतिजामुखी, जनउत्तरदायी र व्यवसायिक मूल्य मान्यतामा आधारित बनाउने प्रणाली हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारीलाई स्पष्ट कार्यविवरण तथा अधिकार प्रत्यायोजन सहितको कार्यसम्पादन सम्झौता गरिएको बताएका छन ।

    ‘यसबाट नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्य प्राप्तिप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाई कार्यसम्पादनलाई उपलब्धीमूलक बनाउने उद्देश्य राखिएको छ ।’ उनले भने, ‘यसले विकास व्यवस्थापन र सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने छ । कर्मचारीको कार्यसम्पादनलाई नतिजासँग आवद्ध गर्नेछ ।’

    प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाई दण्ड र पुरस्कार प्रणालीसँग आवद्ध गरिने उल्लख गरे । उनले भने, ‘कर्मचारीको कार्यसम्पादन नतिजाको निरन्तर अनुगमन गरिने र निर्दिष्ट सूचक र मापदण्डमा आधारित भई कार्यसम्पादन मूल्यांकन गरिनेछ ।’

    निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली २०५०, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ मा कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने प्रावधान रहेको छ ।

    नगरपालिकाले गत आर्थिक वर्षमा समेत प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता गरी योजना कार्यान्वयन र सुशासन प्रवर्द्धनमा उत्साहजनक प्रगति हासिल गरेको छ ।