२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

सुनगाभामा नमुना मतदान

सोमवार , कार्तिक २८, २०७९

सैनामैना, २८ कात्तिक ।
बिहानको १०ः३० बज्दा कक्षा कोठामा पढिरहने क्रितिका घिमिरे आइतबार भने विद्यालयको प्रांगणमा उभिएकी थिइन् । उनी मात्र होइन, उनका साथीहरू पनि लामबद्व थिए । यो दृश्य रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयको हो । 

विद्यालयले आयोजना गरेको नमुना निर्वाचनमा मतदान गर्नको लागि लामबद्ध भएको घिमिरेले सुनाइन् । घिमिरे पछाडी सरिता राउत पनि मतदान गर्नको लागि लामबद्ध भएकी थिइन् । कक्षा १० मा पढ्ने सुरक्षा थापा पनि मतदान गर्नको लागि आतुर देखिन्थिन । उनिहरुले पहिलो पटक निर्वाचनमा मतदान गर्दै गरेको सुनाए । लाइन सर्दै गयो । निर्वाचन अधिकृतलाई मतदाता परिचयपत्र देखाउँदै हातको बुढी औंलामा मसी लगाए र मतपत्र हातमा लिएर गोप्य मतदानस्थलमा उनीहरु गए । आफूलाई मन परेको उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएपछि मतपेटिकामा मतपत्र खसालेर उनीहरुले नमुना भाग लिएका थिए । कक्षा ८ मा पढ्ने दिब्यानी गौतम र कक्षा ९ मा पढ्ने विवेक घिमिरे प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन । घरदैलो कार्यक्रम गर्दै उनीहरुले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै भोट मागेका थिए । चुनावको समयमा चुनावीप्रचार प्रसार, घरदैलो, घोषणापत्र बनाउन र निर्वाचनमा भाग लिन सिकेको गौतम र घिमिरले सुनाए । कक्षा १० मा पढ्ने हिमाल भुसाल सुरक्षा प्रमुख बनेका थिए । उनले निर्वाचनको सुरक्षा व्यवस्था मिलाउँदै ४ वटा मतपेटिकाको सुरक्षा गर्दै लामबद्ध रुपमा निर्वाचन गराएका थिए ।

विद्यालयका सहायक प्रिन्सिपल कमलचन्द्र पौडेल निर्वाचनको प्रमुख आयुक्त बनेका थिए । उनले निर्वाचनको अनुगमन गर्दै निर्वाचन निर्देशिका अनुसार नै निर्वाचन गराएको सुनाए । नमुना निर्वाचनमा ४ वटा राजनीतिक दलहरुले भाग लिए । कक्षा ६ देखि १० सम्मका ४५३ जना मतदाताले मतदानमा सहभागिता जनाए ।  

मतदानको लागि ४ वटा बुथको स्थापनासँगै प्रत्यक्ष र समानुपातिक मतपत्रको व्यवस्था समेत गरिएको सुनगाभा पब्लिक माध्यमिक विद्यालयका प्रिन्सिपल तिलक केसीले बताए । मंसिर ४ गते देशमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । यसरी विद्यालयमा गरिने नमुना निर्वाचनले विद्यार्थीको माध्यमबाट घर घरमा मतदाता शिक्षा पुग्ने केसीले सुनाए  । निर्वाचनको विषयमा कक्षा कोठामा अध्ययन गर्ने विद्यार्थीहरुले निर्वाचनमै सहभागिता भएर निर्वाचन प्रक्रियामा भाग लिएका छन । यसले गर्दा विद्यार्थीको पठनपाठनमा सहयोग हुनुको साथै घरघरमा मतदाता शिक्षा पुग्ने विद्यालयको बुँझाई छ ।